ताजा समाचार


नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्वाचन आयोगको निर्णय

द रियल समाचार     २०७८ असार २७, आईतवार, १६: १२ मा प्रकाशित




काठमाण्डौ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ ।

आइतबार बसेको आयोगको बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने भनी निर्णय सुनाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रको दर्ता खारेजीको माग गर्दै दर्ता भएको निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको उनले बताए । आयोग स्रोतले दिएको जानकारी अनुसार भविसोर पराजुलीले असार २३ गते निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए ।

लामो समय अधिवेशन नगरेको भन्दै माओवादी केन्द्रको दर्ता खारेज गर्न र यसले गरेका कारबाहीलाई अवैधानिक ठहर गर्न माग गरिएको थियो । माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएका निवेदन र दावी दुवै आयोगले खारेज गरेको स्रोतले जनाएको छ ।

माओवादी छाडेर एमाले बनेका पूर्व माओवादी नेताहरु रामबहादुर थापा बादल, टोप बहादुर रायमाझी, प्रभु साह, मणि थापा लगायतको पहलमा निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top