ताजा समाचार


लुम्बिनी प्रदेशसभा अगाडि पत्रकार महासंघको धर्ना

द रियल समाचार     २०७८ असार २७, आईतवार, १४: ४१ मा प्रकाशित




बुटवल । सञ्चार विधेयक फिर्ता गरी पुनर्लेखनको माग गर्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले प्रदेशसभा अगाडि धर्ना दिएको छ । प्रदेश सरकारले दर्ता गरेको विधेयक प्रेस स्वतन्त्रता विरोधी र निरंकुश रहेको भन्दै महासंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

विधेयकबारे सबै प्रदेशसभा सदस्यहरुको ध्यानाकर्षण गराउने उद्देश्यले प्रदेशसभा बैठक शुरु हुनु एक घण्टा अघि दिउँसो १२ बजेदेखि १ बजेसम्म महासंघले कालो ब्यानरसहित धर्ना दिएको थियो ।

पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष वसन्त गिरीले विधेयकको मस्यौदामा राखिएका सञ्चारमाध्यम दर्ता, नवीकरण बन्द, सञ्चार परिषद् गठन, दण्ड जरिवानाका दफाप्रति महासंघको आपत्ति रहेकाले पुनर्लेखन गर्न माग गर्दै आन्दोलनमा उत्रिएको बताए ।

विधेयकमा सञ्चार रजिष्ट्रारले सञ्चारमाध्यमको दर्ता नवीकरण बन्द गर्नसक्ने, पत्रकारलाई कार्यक्रम प्रसारण गरेवापत एक वर्ष कैद सजाय तोक्न सक्ने जस्ता संघीय कानून विपरीतका प्रावधान रहेकाले महासंघले विधेयक स्वीकार नगर्ने बताए ।

सञ्चार परिषद्को अध्यक्षमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री र अधिकांश सदस्यहरू पनि मन्त्रालयका सचिवहरू रहने प्रस्ताव गरिएको छ । परिषद्लाई सरकारको नियन्त्रणमा राखेर स्वतन्त्र र व्यावसायिक पत्रकारितालाई निरुत्साहित गर्ने सरकारको निहीत उद्देश्य रहेको महासंघको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top