जनकपुरधाम । गत जेठ १९ गते आफ्नै घरबाट बेपत्ता भएकी महोत्तरीको लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव आइतबार शौचालयको हदमा भेटिएको छ ।
व्यापक खोजतलास पश्चात सुजिताको शव आइतबार बिहान आफ्नै पेट्रोल पम्पको छेउमा रहेको शौचालयको हदमा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
उनका अनुसार शौचालयमा भेटिएको शव सुजिताकै रहेको माइत पक्षले सनाखत गरेको हो । सुजिताको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ ।
यसअघि असार १३ गते बेपत्ता सुजिताको शवको अवशेष (कपाल, चुरा, डोरी, नुनको प्याकेट, कपडा) लगायतका सामग्रीहरु घरभन्दा एक किलोमिटर पर खेतमा गाडेको अवस्थामा फेला परेको थियो ।
माइत पक्षले छोरी सुजिताको हत्या भएको दावी गर्दै आएको छ । सुजिताकी पाँच वर्षीय छोराले आमाको हत्या भएको पोल खोलेका थिए । सुजिताको शवको अवशेष फेलापरेदेखि प्रहरीले सोही दिन उनका श्रीमान मुकेश ठाकुर, देवर रुपेश ठाकुरलाई पक्राउ गरेको थियो । घटनामा संलग्न भएको आशंकामा थप ३ जनालाई पक्राउ गरिएको छ ।
शवको अवशेष फेला परेपछि एकसाता अघि माइत पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पति, देवर, सासुसुरा देवरानी लगायत ६ जना विरुद्ध किटानी जाहेरी दर्ता गराएको थियो । प्रहरीले सुजिता हत्याकाण्डको विषयमा सोमबार पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराउने एसपी आचार्यले जानकारी दिए ।
प्रतिक्रिया