ताजा समाचार


भारतमा पनि कोरोनाको डेल्टा भेरियन्टको नयाँ म्युटेशन फेला

द रियल समाचार     २०७८ असार २६, शनिबार, १५: ०४ मा प्रकाशित




एजेन्सी । अमेरिका र बेलायतपछि भारतमा पनि कोरोनाको डेल्टा भेरियन्टको नयाँ म्युटेशन फेला परेको छ । केन्द्रीय सरकारले यस विषयमा मौनता जनाएपनि भारतीय वैज्ञानिकले भने भारतमा डेल्टाको एवाई.२ म्युटेशन फेला परिसकेको दाबी गरेका छन् ।

हाल अमेरिकामा सबैभन्दा बढी यो म्युटेशनका संक्रमित रहेका छन् । भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आइसिएमआर) ले दिएको जानकारी अनुसार हालसम्म एवाई.२ का पाँच संक्रमित भारतमा देखा परिसकेका छन् । यी केशहरु राजस्थान, कर्नाटक र महाराष्ट्रमा पाइएका छन् ।

अघिल्लो वर्षको अक्टोबरमा कोरोनाको डबल म्युटेशन सुरुमा महाराष्ट्रमा भेटिएको थियो । यसपछि भारतमा नयाँ भेरियन्टको रुपमा डेल्टा र कप्पा आएको थियो । डेल्टाका पनि दुई म्युटेशन भारतमा देखिएका छन् । पहिलो, डेल्टा प्लस र दोस्रो, अहिले पुष्टि भएको एवाई.२ ।

पुणेस्थित एनआइवीकी डा. प्रज्ञा यादवले डेल्टा प्लससँगै एवाई.२ पनि भारतमा पाइएको दाबी गरिन् । यी दुवै म्युटेशन निकै गम्भीर प्रकृतिका भएका उनले बताइन् । यसबारे धेरै जानकारीहरु आइनसकेपनि यी म्युटेशनलाई खतरनाक मानिएको छ र यसमाथि अनुसन्धानहरु भइरहेका छन् । यादवले भारतमा कोरोनाको तेस्रो लहर आए यी दुवै म्युटेशको मुख्य भूमिका हुनसक्ने बताइन् ।

डेल्टाको तेस्रो म्युटेशन पनि फेला

डेल्टाको तेस्रो म्युटेशन पनि फेला परेको दाबी गरिएको छ । तर, भारतलगायत दक्षिण एसियाली मुलुकमा यसको पुष्टि भएको छैन । जुन २३ मा तेस्रो म्युटेशनका रुपमा एवाई.३ भेटिएको पुष्टि गरिएको छ । अमेरिका तथा बेलायतमा गरिएको जिनोम सिक्वेन्सिङमा यसको पुष्टि भएको हो ।

भारतका १४ राज्यमा डेल्टा प्लस

भारतका १४ राज्यमा डेल्टा प्लस भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो पटक उत्तर प्रदेश र बिहारमा यो भेरियन्टको पुष्टि भएको छ । भारतमा ८० जनामा डेल्टा प्लसको संक्रमण देखिएको छ ।

बीटा र डेल्टा धेरै खतरनाक

कोरोना संक्रमणमुक्त भएका व्यक्तिमा गरिएको एन्टिबडी परीक्षणबाट थाहा भएको छ कि, बी.१ भेरियन्टको तुलनामा बीटा र डेल्टा धेरै खतरनाक छन् । बी.१ भेरियन्टबाट संक्रमणमुक्त भएका व्यक्तिमा ९७.८ प्रतिशत एन्टिबडी पाइयो भने बीटाबाट संक्रमणमुक्त भएकामा २९.६ प्रतिशत र डेल्टाबाट संक्रमणमुक्त भएकाहरुमा २१.१ प्रतिशत एन्टिबडी पाइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top