एजेन्सी । युरोपियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युरो कपको १६ औँ संस्करणको उपाधिका लागि इङ्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्दैछन् । खेल इङ्ल्यान्डको घरेलु मैदान वेम्बली स्टेडियममा आइतबार नेपाली समय अनुसार राति पौने १ बजे हुनेछ ।
पहिलोपटक युरो कपको फाइनल प्रवेश गरेको इङ्ल्याल्ड पहिलो प्रयासमै उपाधि हात पार्ने लक्ष्यमा हुनेछ । उसलाई घरेलु दर्शकको पनि राम्रो साथ मिल्नेछ ।इङ्ल्यान्डले सन् १९६६ को फिफा विश्वकप उपाधि हात पारेयता उसले पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो ।
घरेलु मैदानमा भएको त्यो विश्वकपछि इङ्ल्यान्डले पहिलोपटक मुख्य प्रतियोगितामा फाइनल खेल्दै छ र त्यो पनि घरेलु मैदानमा । उसलाई ५५ वर्ष अघिको इतिहास दोहो¥याउने अवसर मिलेको छ तर पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको इटालीलाई हराउन त्यति सहज भने छैन ।
पछिल्ला ३३ खेलमा अपराजित इटाली इङ्ल्यान्ड विरुद्धको खेलमा पनि सोही नतिजालाई कायम राख्ने सोचमा हुनेछ । सन् १९६८ को युरो उपाघि हात पारेको इटालीले पछिल्लोपटक सन् २०१२ को युरो फाइनल खेलेको थियो । इटाली इङ्ल्यान्डलाई हराउँदै दोस्रोपटक युरो कप उपाधि उचाल्न चाहन्छ तर घरेलु दर्शकको साथ पाउने इङ्ल्यान्डलाई पराजित गर्न त्यति सहज भने हुने छैन ।
हालसम्म यी दुईले २७ खेलमा एक अर्काको सामना गरेका छन् । इटाली ११, इङ्ल्यान्ड ८ खेलमा विजयी हुँदा ८ खेल बराबरीमा सकिएको छ । यी दुईले एक अर्काविरुद्ध मुख्य प्रतियोगितामा भने जम्मा ४ खेल खेलेका छन् । जसमा चारै खेल इटालीले आफ्नो पक्षमा पारेको छ ।
उनीहरूले मुख्य प्रतियोगितामा पहिलोपटक सन् १९८० को युरो कपमा एक अर्काको सामना गरेका थिए । यो खेलमा इटाली १–० ले विजयी भएको थियो । विश्वकप अन्तर्गत सन् २०१४ मा भएको पछिल्लो खेल पनि इटाली २–१ ले आफ्नो पक्षमा पारेको थियो । प्रतियोगितामा अपराजित रहेका दुई टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया