ताजा समाचार


कोरोना संक्रमणबाट विश्वभर ४० लाख १९ हजारको मृत्यु

द रियल समाचार     २०७८ असार २६, शनिबार, १४: २१ मा प्रकाशित




एजेन्सी । कोरोना भाइरसको सन्त्रास संसारभर छाएको छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक भाइरस देखिएको थियो । अहिलेसम्म भाइरसका अनेकन भेरियन्ट फैलिसकेका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर कोरोना संक्रमणबाट ४० लाख १९ हजार ५० जनाले ज्यान गुमाइसकेका छन् । यसै गरी हालसम्म १८ करोड ६० लाख ६७ हजार ८७७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिका हो । अमेरिकामा हालसम्म ६ लाख ६ हजार ९९३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने ३ करोड ३८ लाख ३८ हजार ७४६ जनामा संक्रमण पुष्टि भइसकेको छ । अमेरिकापछि ब्राजिलमा संक्रमणबाट ज्यान जानको संख्या धेरै रहेको छ । ब्राजिलमा हालसम्म ५ लाख ३१ हजार ६८८ जना संक्रमितको ज्यान गइसकेको छ ।

ब्राजिलमा मृत्यु हुनेको संख्या धेरै भएपनि संक्रमित हुनेको संख्या भने अमेरिका र भारतभन्दा थोरै रहेको छ । ब्राजिलमा हालसम्म १ करोड ९० लाख २० हजार ४९९ जनामा संक्रमण पुष्टि भइसकेको छ । छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख ७ हजार १४५ जनाले ज्यान गुमाइसकेका छन् भने ३ करोड ७ लाख ९५ हजार ७१६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यसैगरी मेक्सिकोमा २ लाख ३४ हजार ६७५, पेरुमा १ लाख ९३ हजार ९०९, रसियामा १ लाख ३९ हजार १५६, बेलायतमा १ लाख २८ हजार ६३१, इटालीमा १ लाख २७ हजार ७५६ र फ्रान्समा १ लाख ११ हजार ४९२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top