ताजा समाचार


प्रदेश २ : ४ करोडका बस र ५ करोडका वारुणयन्त्र प्रयोगविहीन अवस्थामा

द रियल समाचार     २०७८ असार २५, शुक्रबार, २३: २३ मा प्रकाशित




जनकपुरधाम । महत्वकांक्षी योजनाहरु सार्वजनिक गर्ने र कार्यान्वयनमा फितलो हुने सरकारको नियमित रोग जस्तै बनिसकेको छ । यसकै निरन्तरता स्वरुप केन्द्र सरकारको रेल र प्रदेश २ सरकारको बस तथा वारुणयन्त्रमा उस्ता उस्तै झमेला देखिएको छ ।

प्रदेश २ सरकारले गत फागुन १ गते पत्रकार सम्मेलनको आयोजना गरी फागुन महिनाभित्रै प्रदेश परिवहन सेवा सञ्चालनमा ल्याउने घोषणा गरेपनि बसहरु महिनौंदेखि थन्क्याएर राखिएको छ ।
जनतालाई सरल, सुलभ तथा व्यवस्थित यातायात सेवा प्रदान गर्ने उद्देश्यले भौतिक पूर्वाधार विकास मन्त्रालयले धनतेरसका दिन ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा ५ वटा बस खरिद गरेको थियो । ५ वटै बसको भुक्तानी गत वर्षको पुस महिनामै भइसकेपनि बस सेवा अझै सञ्चालनमा आउन सकेको छैन् ।

निवर्तमान भौतिक पूवर्पाधार विकासमन्त्री जितेन्द्र सोनलले बस सेवा सञ्चालनको सम्पूर्ण जिम्मा उठाउने एउटा सञ्चालक समिति गठन गरिने बताएका थिए । सञ्चालक समितिले नै बसको चालक, सहचालक नियुक्ति गर्ने सोनलले जानकारी दिएका थिए । प्रदेश परिवहन सेवा सञ्चालनमा आएपछि सार्वजनिक यातायातभन्दा सरल, सुलभ, सुरक्षित र व्यवस्थित हुने उनको दाबी थियो ।

जनकपुरधामदेखि वीरगञ्ज, वीरगञ्जदेखि जनकपुरधाम र जनकपुरधामदेखि राजविराजसम्म सो परिवहन सेवा सञ्चालन गरिने मन्त्रालयको योजना थियो । तर, खरिद गरिएका ति बसहरु एक वर्ष बितिसक्दा समेत अझै सञ्चालनमा आउन सकेका छैनन् । अहिले ति बसहरु मधेस भवनको परिसरमै रहेको खेल मैदानमा थन्किएका छन् ।

यस सम्बन्धमा नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रदेश परिवहन सेवा सञ्चालन गर्ने योजनाले प्रदेश सरकारको आलोचना हुने भन्दै सो बसहरुको व्यवस्थापन गर्ने तयारी थालिएको बताएका छन् । यादवले भने, ‘प्रदेश परिवहनबारे हामी सोच्दै छौँ, बसहरूलाई अन्य कामका लागि विभिन्न संस्थालाई दिएर व्यवस्थापन गर्ने भन्ने तर्फ पनि हामी छलफल गर्दैछौँ । ती बसहरू हतार हतारमा खरिद गरिएको देखिन्छ,‘उनले भने,‘ बिना कुनै योजना खरिद गरिएका बस सरकार आफैंले सञ्चालनमा ल्याउनुको कुनै तुक छैन ।’

५ करोडका वारुणयन्त्र पनि प्रयोगविहीन

प्रदेश सरकारले वर्षेनी रुपमा आगलागीबाट हुने भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्न गत जेठ २८ गते खरिद गरेर ल्याएका ९ वटा वारुणयन्त्रहरु पनि प्रयोगविहीन अवस्थामा रहेका छन् ।

सबै प्रकारको प्राकृतिक विपत्तिको सामना गर्न तथा त्यसबाट हुने क्षतिलाई ७० प्रतिशतले कम गर्ने उद्देश्यले प्रदेश सरकारले दीर्घकालीन रणनीति कार्य योजना अन्तर्गत बाढीको समयमा उद्धार तथा राहत दिनका लागि चाहिने उपकरण, रबर बोट, लाइफ ज्याकेट तथा गर्मीमा हुने आगलागी नियन्त्रणका लागि वारुणयन्त्र वार्षिक कार्यक्रम अन्तर्गत खरिद गरेपनि ति सबै वारुणयन्त्रहरु मधेस भवनको परिसरमै रहेको खेल मैदानमा थन्काएर राखिएका छन् ।

यस सम्बन्धमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले वारुणयन्त्रहरु हस्तान्तरणका लागि आन्तरिक गृहकार्य भइरहेको जानकारी दिएका छन् ।

५३ लाख रुपैयाँका दरले ४ करोड ७७ लाख रुपैयाँमा खरिद गरिएका वारुणयन्त्र ८ वटै जिल्ला प्रशासन कार्यालय र एउटा २ नम्बर प्रदेश प्रहरी कार्यालयलाई हस्तान्तरण गर्ने योजना रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top