जनकपुरधाम । गत असार १ गतेको बैठकमा अर्थमन्त्री विजय कुमार यादवले प्रस्तुत गरेको आर्थिक बर्ष २०७८/७९ को बजेटमाथि अझै छलफल सुरु हुन सकेको छैन । सोही दिन बजेट प्रस्तुत भईसकेपश्चात बसेको दोस्रो बैठक नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले अवरोध गरेका थिए ।
संसदीय विकास कोषको रकम बढाउनुपर्ने माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले बैठक अवरुद्ध गर्दा असार १५ गतेका लागि अर्को बैठक आह्वान गरिएको थियो । तर, फेरि १५ गते पनि कुरा मिल्न नसक्दा बैठकलाई २३ गतेका लागि सारिएको थियो । त्यो दिन पनि बैठक बस्न नसक्दा पुनः आज दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको थियो । तर, आज बस्ने भनिएको बैठक पनि साँझ ५ बजे सुरु भएको छ ।
एमाले र माओवादीका सांसदहरूले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिकलाई साढे २ करोड रकम विनियोजन गर्नुपर्ने अडान राख्दै आइरहेका छन् ।
एमालेका एक सांसदले भने,‘हामीले संसदीय विकास कोषको रकमका लागि मात्रै नभई शसर्त अनुदान, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक निर्माणलगायतका विषय उठाएका छौं ।’ सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ४ करोड र समानुपातिक सांसदलाई डेढ करोड दिने आश्वासन दिएको उनले बताए । सत्ता पक्षीय एक सांसदले समेत प्रत्यक्ष सांसदलाई ५० लाख र समानुपातिकलाई २५ लाख रकम थपिने सम्भावना रहेको बताए ।
आजको बैठकमा अर्थमन्त्री विजय कुमार यादवले ‘प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका छन् । प्रदेश सरकारको आ.व. २०७८/०७९ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल समेत आजैबाट प्रारम्भ हुने भएको छ ।
प्रतिक्रिया