ताजा समाचार


भ्याक्सिन माग्दै धनुषाका शिक्षकहरु धर्नामा

द रियल समाचार     २०७८ असार २५, शुक्रबार, १६: ०९ मा प्रकाशित




जनकपुरधाम । कोरोना भाइरसविरुद्ध भ्याक्सिनको माग गर्दै धनुषाका शिक्षकहरु धर्नामा बसेका छन् ।

नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति धनुषाको नेतृत्वमा जनकपुरधामस्थित शिक्षा समन्वय समितिको कार्यालय अगाडि शुक्रबार बिहान १० बजेदेखि शिक्षकहरु धर्नामा बसेका हुन् ।

उनीहरुले कोरोनाविरुद्धको खोप अविलम्व लगाउनुपर्ने, स्वयंमसेविका र कर्मचारीको बढेको तलब कार्यान्वयन हुनुपर्ने र पुराना शिक्षक ऐन संशोधन, तलब भत्ता तथा ग्रेडवृद्धि, दरबन्दी मिलानलगायत विषयमा सरकारले विगतमा गरेको ३० बुँदे सम्झौता कार्यान्वयन हुनुपर्नेलगायतका माग राखेका छन् ।

महासंघका अध्यक्ष रामस्नेही यादवले सरकारले शिक्षकमाथि सुरुदेखि नै विभेद गरिरहेको आरोप लगाउँदै आफूहरु बाध्य भएर धर्नामा बसेको बताए । उनले सरकारले स्वयंमसेविका र कार्यालय सहयोगीसहितका कर्मचारीको तलब बृद्धि गरेपनि कार्यान्वयन नभएको भन्दै अविलम्व कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

उनले भने,‘ स्वयंमसेविका र कार्यालय सहयोगीसहितका कर्मचारीलाई संघीय सरकारले मासिक ८ हजार रुपैयाँ दिँदै आएको छ र बाँकी तलब स्थानीय तहले दिने भनिएपनि स्थानीय तहले त्यसका लागि बजेट नै छुट्याएका छैनन् ।’

आफूहरुको माग पूरा नभए संघर्षका कार्यक्रमहरु निरन्तर अगाडि बढाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top