–ज्योति झा
आज हामी दुई वर्षदेखि कोरोना महामारीकाबिच धेरै समस्यासँग जुध्दै बाँचिरहेका छौं । यस महामारीले कतिको ज्यान लियो भने कतिलाई बेसहारा र एक्लो बनायो, कतिलाई भोकले मर्न पनि बाध्य तुल्यायो भने भोलिको देशको कर्णधार हुनेहरूको आजको वर्तमानलाई अन्धकार , अज्ञान र शिक्षाबाट टाढा गरायो । कोरोनाले गर्दा देश नै बन्द छ। बच्चाहरु स्कूल, कलेजबाट वञ्चित भएका छन् भने अभिभावक जागिरबाट निकालिएका छन् ।
कसैसँग पैसा छ भने उनका लागि अति आवश्यक पर्ने सामान छैन् । कोहि भने पैसाका लागि छट्पटिएका छन् । तर जे जति भए पनि मानिसको पेटलाई खाना र स्वास्थ्य बिग्रियो भने अस्पताल चाहिएकै हुन्छ ।
बिरामीलाई खल्तीमा पैसा छैन् तर अस्पतालको बिल बढेको बढ्यै छ । कसैसँग यो कुरा लुकेको छैन् । मलाई एउटा कुराले एकदमै विचलित गरेको छ । यस्तो विकट परिस्थितिमा पनि चारैतिर हेर्दैछु, अधिकांस ठाउँमा घरहरू तलामाथि तला थपिएका छन् । मान्छे जग्गा जमिन खरिद गरि नै रहेका छन् । फेरि अर्को सत्य यो पनि छ कि कसैलाई खाना छैन तर कसैलाई तलामाथि तला….!
गरिब झन् गरिब र धनि अझ बढि धनि कसरी बन्दै गईरहेका होलान् ? हाम्रो देशमा ७ वटा प्रदेश र त्यो सातै प्रदेशमा हरेक नगरपालिका, गाउँपालिकामा मेयर , उपमेयर, अध्यक्ष र हरेक प्रदेशमा मुख्यमन्त्री, मन्त्री किन होलान् ? यो कुरा त पक्कै सबैलाई थाहा छ कि आफ्नो ठाउँको उन्नति, प्रगति र जनतालाई साथ, सहयोग र सुविधाका लागि जनप्रतिनिधि हुन्छन् । तर यहाँ आफ्नो खल्ती भर्नबाट फुर्सत भए पो जनप्रतिनिधिले जनता र जनताको समस्या हेर्ने हो त ! होईन् र ?
यस्तो प्राकृतिक विपदाको अवस्थामा मान्छेको जीवन बीच नदीमा फसेको जस्तै छ । तर फेरि मानिस नै भ्रष्टाचार, अहंकार, लोभ, लालचले ग्रसित हुँदै गईरहेका छन् । मानौं कि उ कहिल्यै न मर्ने हो न यो कोरोनाले नै उसलाई केहि गर्ने हो । सब भन्दा ठूलो नौटंकी त अझ के हेर्छु भने चुनाव गर्न सरकारसँग थुप्रै पैसा हुन्छ । तर जनताको लागि केही गर्नुपर्दा विचरा गरीब हाम्रो सरकार !
जुलुस गर्दा, आन्दोलन गर्दा , नेताहरु दिनहुँ बैठक बस्दा कोरोना सुतिराखेको हुन्छ तर, गरीबले रोजगारी गर्दा कोरोना बढे्को बढ्यै अरे ! जागिर छैन्,पैसाको श्रोत बन्द छ तर बिरामी भएर अस्पतालमा पुगेपछि एकदिनमा २० देखि ३० हजारसम्म बिल तिर्नु पर्ने बाध्यता । अस्ति बजेट भाषण हुँदा बृद्ध भत्ता बढेर चार हजार पुग्यो रे तर बाँचे पो वृद्धा पेन्सन पाउने हजुर । रोजगारी छैन, पैसा छैन तर दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।
सरकारी जागिरमा रहेका व्यक्तिलाई त अलिकति राहत भएपनि प्राईभेट जागिरेहरुको अबस्था दयनिय छ । त्यसमाथि घरबेटीको मनपरी कोठा भाडा लिने चलन ! यतातिर ध्यान दिने त कोही छँदैछैन हौ । हाम्रो प्रिय सरकार लकडाउन र भाषण बाहेक केहि गर्न सकेको छैन । मन्त्रीदेखि सांसदसम्म र मेयरदेखि कर्मचारीसम्म सबैले लकडाउनको भरपूर फाईदा उठाईरहेका छन् । खै वहाँहरुलाई पैसा भएपछि पुग्छ कि ?
भ्रष्टाचार गरेर कमाएको करोडौँ रुपैयाँ स्थायी सम्पति हुँदैन । यो संसारमा कोहि ठुलो छ भने त्यो हो प्रकृति । प्रकृतिले समय समयमा हामीलाई सचेत गराउँदै आइरहेको सर्वविदितै छ । कहिले विनाशकारी भूकम्प, कहिले बाढीपहिरो त कहिले प्राकितिक प्रकोप । अहिले हामी कोरोनाको महामारीबाट गुज्रिरहेका छौं ।
प्रतिक्रिया