ताजा समाचार


नगरसभा चलिरहेकै बेला मटिहानी नगरपालिकामा तालाबन्दी

द रियल समाचार     २०७८ असार ९, बुधबार, १९: ११ मा प्रकाशित




महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा नगरसभा चलिरहेकै बेला विपक्षी पाँच दलले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

विपक्षी दल तथा सर्वसाधारण जनताहरुलाई सोधपुछ नै नगरी गुण्डाशैलीमा चोरबाटो अपनाएर मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले नगरपालिकाको कार्यालय भन्दा बाहिर बन्द कोठामा नगरसभा गरेको आरोप लगाउँदै कार्यालयमा पाँच दलले तालाबन्दी गरेका हुन् ।

महोत्तरीको मठियानी नगरपालिकामा पाँच दल र स्थानियहरु मिलेर नगरपालिकाको मुलगेटमा तालाबन्दी गरेका छन । भ्रष्टाचारी मेयर मुर्दाबाद, तानाशाह मेयर मुर्दाबाद, गोपनिय परिषद मुर्दाबाद, आय व्यय सार्वजनिक गर, योजना तर्जुमा तथा गोप्य परिषद खारेज गर लगायतका नाराहरु लगाउँदै नगरपालिका कार्यालय पुगेका पाँचै दलका ५०÷६० जनाको समूहले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य राजकिशोर मण्डल, जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) का नगरअध्यक्ष रामनन्दन यादव, नेपाली काँग्रेसका नगर संयोजक रामपदार्थ साह, नेकपा एमाले (माधव नेपाल पक्ष) का नगर कमिटी अध्यक्ष लालबाबु यादव र जनमत पार्टीका नगर कमिटी अध्यक्ष जगतलाल यादवले मटिहानी नगरपालिकाको कार्यालयमा संयुक्त रुपमा तालाबन्दी गरेका छन् ।

मटिहानी नगरपालिकामा करार सेवामा १८ जना स्वास्थ्यकर्मीहरु भर्ना गर्दा कुनैपनि प्रक्रिया पूरा नगरी आफ्ना आसेपासेहरुलाई नियुक्ती गरेको, आफूसँग ५÷७ जना केटाहरुलाई लठैतको रुपमा घुमाएर उनीहरुलाई नगरपालिकाबाट तलब खुवाउने गरेको, नगर क्षेत्रमा डेढ करोडको लागतमा खानेपानीको योजना सञ्चालन गरेर आफ्ना आसेपासेलाई खानेपानी पाईप बाँडेको, नगर क्षेत्रमा सञ्चालन हुने विकासका कामहरुका लागि नाम मात्रको नक्कली उपभोक्ता समिति बनाएर वडा सचिव इन्जिनियरद्वारा नै योजना सञ्चालन गरेको, कर्मचारी र उपभोक्ता समितिको मिलोमतोमा बजेट हिनामिना गरेको लगायतका आरोपहरु लगाउँदै पाँच दलका नेताहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

पाँच दलले एक दिन पहिले नगरप्रमुख मण्डललाई विभिन्न माँग राख्दै ज्ञापन पत्र बुझाउन गएकोमा उनले नगरपालिकामा ज्ञापन पत्र बुझेका थिएनन् भने आज नगरसभा चलिरहेकै बेला पनि पाँच दलले ज्ञापन पत्र बुझाउन जाँदा नबुझेपछि उनीहरुले तालाबन्दी गरेका छन् ।
नेपाली काँग्रसका नेता जयकुमार चौधरीले मेयर मण्डलको विभिन्न क्रियाकलाप विरुद्ध १७ बुँदा उल्लेख गर्दै जिल्लाको बर्दिबासमा अवस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय र केन्द्रिय कार्यालयमा समेत उजुरी दिईसक्दा पनि कुनै कारबाही नभएको आरोप लगाए ।

यसैबीच आजै दिउँसो मटिहानी नगरपालिकाले आफ्नो साताँै नगरसभा सम्पन्न गरेको छ । मटिहानीको वडा नं.८ मा अवस्थित राष्ट्रिय संस्कृत माध्यमिक विद्यालय मटिहानीको सभा हलमा मटिहानी नगरपालिकाको सातौँ नगरसभा सम्पन्न भएको हो । असार १० गते भित्र नै नगरसभा गर्नुपर्नुे भएकोले कतिपय पालिकाले कागजमै घरघर गएर हस्ताक्षर गराएर नगरसभा गर्दे आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top