ताजा समाचार


भारतमा कोरोना संक्रमितको संख्या घट्दै

द रियल समाचार     २०७८ असार ९, बुधबार, १५: ०७ मा प्रकाशित




एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ । त्यसैगरी कुल सङ्क्रमितको सङ्ख्या भने ३ करोडभन्दा बढी पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल सङ्क्रमितमध्ये १ करोड पछिल्लो ५० दिनमा थपिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या ३ करोड २८ हजार २०९ पुगेको छ । पछिल्लो २५ घण्टामा भने ५० हजार ८४८ जना सङ्क्रमित थपिएको मन्त्रालयका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

सोही अवधिमा भारतमा कोरोनाका कारण १ हजार ३५८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या भने ३ लाख ९० हजार ६६० पुगेको छ । महामारी अन्त्य नभएको र मृत्यु हुनेक्रम नरोकिएकाले कुल मृतकको सङ्ख्या केही दिनमा ४ लाख पुग्ने देखिएको छ ।

भारतमा पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमित र मृतकको सङ्ख्या घट्दै गइरहेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५४ लाख २४ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या ६ लाख ४३ हजार १९४ रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या पनि अहिले कम हुँदै गएको हो । त्यसैगरी पछिल्लो एक दिनमा भारतमा १९ लाख १ हजार ५६ जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै भारतमा अहिलेसम्म कुल ३९ करोड ५९ लाख ७३ हजार १९८ पटक परीक्षण भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top