ताजा समाचार


एसियन महिला भलिबलमा नेपालसहित १२ देशले खेल्ने

द रियल समाचार     २०७८ असार ६, आईतवार, १६: २१ मा प्रकाशित




काठमाण्डौ । एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशले खेल्ने भएका छन् ।

आगामी भदौमा फिलिपिन्समा आयोजना हुने सो च्याम्पियनसिपमा नेपालसहित १२ देशले सहभागिता जनाउने पक्का भएको एसियाली भलिबल महांघले जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण चीन, श्रीलङ्का, भियतनाम, इन्डोनेसिया र न्यूजिल्याण्डले प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् । सुरुआतमा सो प्रतियोगिता चीनमा आयोजना गरिने तय भएको थियो । पछि कोरोनाका कारण चीनले प्रतियोगिता आयोजना गर्न अस्वीकार गरेपछि फिलिपिन्समा गर्ने निधो भएको हो ।

एसियन च्याम्पियनसिपमा नेपालसहित भारत, थाइल्याण्ड, फिलिपिन्स, जापान, दक्षिण कोरिया, कजाकिस्तान, उज्वेकिस्तान, चाइनिज ताइपेई, इरान, अस्ट्रेलिया र हङकङले प्रतिष्पर्धा गर्ने छन् । नेपाली महिला भलिबल टोली पहिलो पटक एसियन च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । प्रतियोगिता आगामी भदौ १३ देखि २० गतेसम्म आयोजना हुनेछ ।

नेपालको महिला टोलीले २०७६ सालमा भएको पहिलो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेको थियो भने २०७६ मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा फाइनलमा भारतसित पराजित हुँदै रजत पदक प्राप्त गरेको थियो । प्रतियोगिताका लागि नेपाल भलिबल संघले ३० खेलाडी छनोट गरेको छ । हाल खेलाडीहरू बन्द प्रशिक्षणमा सहभागी छन् ।

बन्द प्रशिक्षणका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट आठ, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमण्ड क्लबबाट सात सात तथा भरतपुर मेट्रोबाट एउटा खेलाडीलाई छनोट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top