ताजा समाचार


प्रदेश २ : स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याइयो

द रियल समाचार     २०७८ जेष्ठ २७, बिहीबार, १७: ४३ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारीलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम ल्याएको छ ।

प्रदेश नम्बर २ सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रदेश प्रमुख डा. राजेश झा अहिराजले प्रस्तुत गरेका छन् । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रदेशको प्रत्येक जिल्लामा विकास निर्माणलाई तिव्र गति दिन एक जिल्ला एक प्रादेशिक नमुना परियोजना बनाउने नीति प्रदेश सरकारको रहेको जनाइएको छ ।

त्यसैगरी प्रदेश सरकार सुशासनप्रति प्रतिवद्ध रहेको जनाउँदै प्रदेश भित्र भ्रष्टाचार नियन्त्रण गर्न तथा सेवा प्रवाह चुस्त, दुरुस्त बनाउन प्रदेश सुशासन आयोगको गठन गर्नेगरि आयोगलाई प्रभावकारी बनाइने निति लिइएको छ भने जनकपुरधाममा मधेश सम्मेलन केन्द्रको स्थापना गरिने समेत उल्लेख गरिएको छ । चुरे संरक्षणलाई विशेष प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

नीति तथा कार्यक्रममा चुरे विनाशबाट प्रदेशका साथै समग्र देश मरुभूमि तर्फ अग्रसर हुने भएकाले चुरे संरक्षणका लागि कानूुनी तथा प्रशासनिक निति अवलम्बन गर्ने उल्लेख गरेर संघ सरकारलाई काउण्टर दिइएको छ । चुरेको फेदमा हरियो वन विकास, चुरे क्षेत्रमा जलाशय निर्माण लगायतका नीति अपनाइने बताइएको छ । यसका साथै नदीको बालुवा, ढुंगा आदि ढुवानीमा नियन्त्रण गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबैभन्दा बढी जोड स्वास्थ्य क्षेत्रमा दिइएको छ । कोरोना परिक्षणको दायरा फराकिलो बनाइने, पूर्ण खोप प्रदेश अभियान चलाइने, दलित तथा सिमान्तकृत समूदायलाई निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराइने प्रदेश सरकारले नीति लिएको छ । त्यस्तै जनकपुरधामको प्रादेशिक अस्पताललाई ५ सय शय्याको अस्पतालको रुपमा विकास गरिने, ८ वटै जिल्लामा कम्तीमा एउटा स्वास्थ्य तथा आरोग्य केन्द्रको स्थापना गरिने उल्लेख रहेको छ । स्वास्थ्य क्षेत्रलाई मजबुुत बनाउन प्रदेशको आफ्नै स्वास्थ्य निति ल्याइने, स्वास्थ्य क्षेत्रमा सुशासन र पारदर्षिता ल्याउन प्रभावकारी कदमहरु चालिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश सरकारले कोरोना महामारीका कारण उत्पन्न बेरोजगारी समस्या समाधान गर्नका लागि अध्ययन गरेर प्रदेशमै रोजगारी सिर्जना गर्ने भएको छ । यसका लागि मझौला उद्योगहरुलाई प्रोत्साहन गरिने, वैदेशिक रोजगारबाट फर्केका युवाहरुका लागि नवप्रवद्र्धन कृषि परियोजनालाई निरन्तरता, कृषि बिमा कार्यक्रम, कृषि सडक निर्माण, कृषिमा आधुनिकिकरण लगायतका कार्यक्रमहरु ल्याइने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा पर्सादेखि सप्तरी जिल्लासम्मको २ सय ५० किलोमिटर सडक खण्डलाई मधेशी शहीद राजमार्गको रुपमा विकास गरिने निति तथा कार्यक्रममा समावेश गरिएको छ । हाम्रो प्रदेश, उज्यालो प्रदेश नाराका साथ प्रदेशलाई उज्यालो बनाउन ३ सय मेगावाट सौर्य उर्जा प्लान्टको स्थापना गर्ने नीति पछिल्लो वर्षहरु जस्तै यस वर्ष पनि निरन्तरता पाएको छ ।

प्रदेश सरकारले जनतालाई सुशासनको अनुभित दिलाउने गरि सबै निर्वाचन क्षेत्रमा संतुलित र समता मुलक तरिकाले विकास निर्माणको बजेट बाँडफाँड गर्ने नीति प्रदेश सरकारले लिएको छ । प्रदेश सरकारले एक शहिद एक परिवार एक रोजगार योजना अन्र्तगत मधेस आन्दोलनमा शहादत प्राप्त गरेको शहिद परिवारलाई रोजगार उपलब्ध गराइएको छ र यसलाई स्थायित्व प्रदान गरिने नीति लिएको छ ।

त्यसैगरि मधेस आन्दोलनमा शहादत प्राप्त गरेको शहिदहरुका सन्तानहरुको अध्ययनको अभिभारा प्रदेश सरकारले लिने छ भने मधेस आन्दोलनमा सख्त घाइते भई विकालंग भएका व्यक्तिहरुको सहयोगर्था ती परिवारका बालबालिकाहरुलाई विशेष छात्रवृतिको व्यवस्था गरिने निति लिइएको छ । त्यसैगरि लोकतान्त्रिक आन्दोलनका शहिद तथा वेपत्ताहरुको परिवार र घाइतेहरुको सम्मान एवं व्यवस्थापनमा प्रदेश सरकारले उचित ध्यान दिने निति लिएको छ ।

प्रदेशको मुख्य आर्थिक स्रोत कृषि रहेको भन्दै कृषिलाई आधुनिकीकरण र प्रविधिमैत्री नगरी प्रदेशको उन्नती असम्भव रहेकोले कृषिमा संरचनागत परिवर्तन गरी सामाजिक तथा आर्थिक रुपान्तरण गर्ने लक्ष्यअनुरुप प्रदेशलाई कृषिप्रधान बनाउने अवधारणा अगाडी बढाउने नीति सरकारले लिएको छ ।

प्रदेश सरकारले आर्थिक रुपमा विपन्न, दलित तथा मुस्लिम छात्राहरुको शैक्षिक स्तर उकास्नका लागि विशेष छात्रवृति कार्यक्रम, जिल्ला अस्पतालहरुको स्तरोन्नति गर्ने, एउटा ट्रमा सेन्टरको स्थापना लगायतका कार्यक्रमहरुले निरन्तरता पाएका छन् । यद्यपि यस वर्षको निति तथा कार्यक्रममा प्रदेशमा २ वटा ट्रमा सेन्टर स्थापना गर्ने नीति लिइएको छ ।

वार्षिक नीति तथा कार्यक्रम अन्तिम परिमार्जित 02_24-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top