ताजा समाचार


कोपा अमेरिकामा अर्जेन्टिनाले सहभागिता जनाउने

द रियल समाचार     २०७८ जेष्ठ २४, सोमबार, १९: १० मा प्रकाशित




एजेन्सी । जुन १३ बाट सुरु हुने दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिकामा अर्जेन्टिनाले सहभागिता जनाउने भएको छ ।

अर्जेन्टिनाको फुटबल संघले सोमबार आफ्नो टिम प्रतियोगितामा सहभागी हुने जानकारी दिएको हो । उसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अर्जेन्टिनाले कोपा अमेरिका–२०२१ मा सहभागिता जनाउनेछ । यसले इतिहासमा खेल भावनालाई झल्काउनेछ ।’

सन् २०२० मै अर्जेन्टिना र कोलम्बियाले संयुक्त रुपमा आयोजना गर्ने तय भएको प्रतियोगिता १ वर्षपछि धकेलिएको हो । दुवै देशमा प्रतियोगिता आयोजना गर्न सम्भव नभएपछि अन्तिम समयमा आएर दक्षिण अमेरिकी फुटबल महासंघले ब्राजिललाई आयोजनाको जिम्मा दिएको थियो ।

अहिले आयोजक ब्राजिलसहितका खेलाडी प्रतियोगिता आयोजना गर्ने पक्षमा छैनन् । यो समयमा खेलभन्दा स्वास्थ्यलाई बढी प्राथमिकता दिनुपर्ने उनीहरुको भनाइ छ । ब्राजिलको विपक्षी दलले कोरोना महामारीबीच पनि प्रतियोगिता गर्न लागेको भन्दै सरकारविरुद्ध मुद्दा दर्ता गरेको छ । यसले कोपा अमेरिका समयमै हुनेमा अन्योल बढाएको छ ।

तालिकाअनुसार जुन १३ मा ब्राजिल र भेनेजुयलाको खेलबाट प्रतियोगिताको सुरुवात हुनेछ । अर्जेन्टिनाले जुन १४ मा चिलीविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top