ताजा समाचार


पदमुक्त भएसँगै सोनलले सरकारी निवास छाडे

द रियल समाचार     २०७८ जेष्ठ २४, सोमबार, १०: ४७ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल पदमुक्त भएसँगै सरकारी निवास छाडेका छन् ।

सरकारी निवास छाडनुअघि उनले आफ्नो लागि प्रदेशको राजनीति निकै भाग्यको कुरा भएको बताउँदै ३ वर्षसम्मका सहयात्री र सहयोगीहरुलाई धन्यवाद दिए ।

सोमबार बिहानै सरकारी निवास मधेश भवनबाट एउटा सामान्य झोला मात्र बोकेर उनी मोटरसाइकलमा सवार भई बाहिरिएका थिए ।

मन्त्री सोनलले सामान्य रुपमा निवास छोडेर बाहिर निस्केको तस्विर यतिबेला सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । सामाजिक सञ्जालमा राखिएको सो तस्वीर केही समयमै भाइरल बनेको हो । निकै सरल तरिका र सामान्य ढंगले निवासबाट बाहिरिएको भन्दै उनको चौतर्फी प्रशंसा भएको छ ।

विदा हुनुअघि कर्मचारी, बुद्धिजीवि, मुख्यमन्त्री, मन्त्री, सञ्चारकर्मीलगायतका सबै पक्षले आफ्नो काममा गरेको रचनात्मक सहयोगको उनले प्रशंसा गरे ।

मन्त्री निवासबाट बाहिरिनेक्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूलाई पार्टीले अन्य जिम्मेबारी नदिएसम्म प्रदेशमै रहेर जनता तथा पार्टीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘म मन्त्री पदमा नरहेपनि देश, प्रदेश र जनताको विकासमा केन्द्रित भएर काम गरिरह्नेछु ।’

आइतवार साँझ मुख्यमन्त्री लालबाबु राउतले जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्री जितेन्द्र सोनल सहित राज्यमन्त्रीहरू अभिराम शर्मा, सुरेश मण्डल र डिम्पल झाको कार्यसम्पादन संतोषजनक नरहेको भन्दै पदमुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top