ताजा समाचार


वीरगञ्ज महानगरभित्र विद्यार्थीको दिवाखाजामा खुलेआम भ्रष्टाचार

द रियल समाचार     २०७८ जेष्ठ २३, आईतवार, १५: ०९ मा प्रकाशित




पर्सा । विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले सरकारले सबै सरकारी विद्यालयमा दिवा खाजाको सुविधा दिएको छ ।

सरकारी विद्यालयमा कम भर्ना हुने र बीचमै पढाइ प्रवृत्ति बढ्दै गएपछि विद्यार्थी आकर्षण गर्नका लागि सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गरेको हो । प्राथमिक तहसम्मका विद्यार्थीहरूलाई मात्र यो सुविधा छ ।

सरकारले राम्रो उद्देश्यले ल्याएको यस कार्यक्रममा खुलेआम भ्रष्टाचार भइरहेको पाइएको छ । त्यो पनि सरकारी कर्मचारीबाट । तर सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ । अनुगमन तथा कारबाही गर्ने निकाय नै मौन बसेपछि विषय शंकास्पद बनेको छ । घटना हो, वीरगञ्ज महानगरपालिकाको ।

वीरगन्ज महानगरपालिकामा दिवा खाजा बापत दिने रकम अहिले धमाधम निकासा भइरहेको छ । आर्थिक वर्ष सकिन लाग्दा बजेट सिध्याउने उद्देश्यले हुँदै नभएको कार्यक्रमको पैसा पनि निकासा गर्न थालिएको छ । स्रोतका अनुसार वीरगन्ज महानगरपालिकाका कर्मचारीले लेनदेनको आधारमा कागजी प्रक्रिया पूरा गरेर सञ्चालन नै नभएको कार्यक्रम अन्तर्गतको दिवा खाजाको रकम निकासा गरेका छन् ।

के गरेको छ महानगरपालिकाले ?

वीरगन्ज महानगरपालिकाले अहिले आफ्नो नगरभित्र पर्ने सबै प्राथमिक तहका विद्यालयमा दिवा खाजा बापत दिने रकम धमाधम निकासा गरिरहेको छ । महानगर क्षेत्रमा रहेका ८९ वटा विद्यालयमा रकम पठाइएको छ । एकदिनको प्रतिविद्यार्थी १५ रुपैयाँका दरले महानगरपालिकाले विद्यालयमा रहेको विद्यार्थी संख्याको आधारमा रकम पठाएको छ ।

फागुन र चैत महिनामा विद्यालय सञ्चालन भएको रजिष्टरमा देखाउँदै महानगरपालिकाले दिवा खाजाको रकम निकासा गरेको दिवा खाजाबापत रकम पाएका एक विद्यालयका प्रधानाध्यापकले बताए । उनका अनुसार यो रकम कागजी रूपमा सबै प्रक्रिया पूरा गरेर विद्यालयमा पठाइएको छ । ‘तर वास्तविक रूपमा दिवा खाजा खुवाइएको छैन,’उनले भने ।

ती प्रधानाध्यापक मात्रै नभई शिक्षक संघ पर्साका अध्यक्ष प्रदीप कुमार जैसवालले पनि यस कुरासँग विमति रहेको प्रतिक्रिया दिए । ‘खाजा खुवाउँदा पहिला नै पैसा आउँछ । त्यसपछि विद्यालयले खाजा खुवाउने गरेको छ’ जैसवालले । उनका अनुसार विद्यालयलाई खाजाको रकम दिने भन्दै महानगरले मौखिक आश्वासन दिएको थियो ।

यो आश्वासनको भरमा केहीले खाजा खुवाए । रकम निकासा हुने होकी होइन भन्ने आशंकाका कारण अधिकांशले खाजा खुवाएनन् । तर अहिले दुई महिनाको रकम भने भने सबै विद्यालयमा आएको छ । यो दुई महिनामा मात्रै महानगरबाट दिवा खाजा बापत १ करोडभन्दा बढी रकम निकासा भएको छ ।

किन पठाइयो रकम ?

विद्यालयहरू संचालन रहँदा भने महानगरपालिकाले रकम पठाएको थिएन । रकम नपठाएसम्म विद्यालयले दिवा खाजा खुवाउँदैन पनि । महानगरले यो वर्ष दिवा खाजा बापतको रकम नपठाउने तयारीमा पनि थियो ।

तर आर्थिक वर्ष सकिन लाग्दा शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णको समन्वयमा एकाएक रकम निकासा भएको छ ।स्रोतका अनुसार शैक्षिक महाशाखा प्रमुख कर्णले कार्यकारी प्रमुख प्रदीप निरौलासँग सबै तालमेल मिलाएर रकम निकासा गराएका हुन् ।

रकम पाएका एक विद्यालयका प्रधानाध्यापक भन्छन्, ‘यो रकम आउने आशा थिएन, तर कर्ण सरले यो सबै मिलाउनु भयो । अनि रकम पनि आयो । निकासा भएको रकमको ६० प्रतिशत आफूहरूले लिने र ४० प्रतिशतमात्रै विद्यालयलाई दिने भन्नु भयो । यही सहमतिको आधारमा रकम आयो ।’

यता महानगरले भने यस कुरामा विमति जनाएको छ । महानगरपालिकाका लेखा शाखामा कार्यरत राजन दासले दिवा खाजा खुवाएकै विद्यालयहरूमा रकम गएको उनको प्रतिक्रिया छ । उनका अनुसार फागुन र चैतमा खाजा खुवाएका विद्यालयहरूमा मात्रै त्यो बापतको रकम गएको हो ।

मेयर भन्छन्–डेढ महिनादेखि विद्यालय बन्द छ

वीरगन्ज महानगर प्रमुख विजय सरावगीले यो बारेमा आफूलाई केही थाहै नभएको जानकारी दिए । उनी भन्छन्, ‘दिवा खाजाको रकम त अहिले नजानु पर्ने हो, किनकि डेढ महिनाभन्दा बढी समयदेखि विद्यालयहरू बन्द नै छन् । यसबारे आफूले म छानबिन गर्ने प्रतिबद्धता सरावगीले जनाए ।

महानगरपालिकाका प्रमुख कार्यकारिणी अधिकृत प्रदीप निरौलाले पनि यसखालको चलखेल कसरी भयो भनेर अनविज्ञता प्रकट गरे । सम्बन्धित् शाखा प्रमुखसँग सोधखोज गरेर छानबिन गर्ने उनले प्रतिक्रिया दिए ।
–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top