ताजा समाचार


प्रक्रिया पुर्याएर महतोलाई संसदीय दलको नेता चयन गरिएको दाबी

द रियल समाचार     २०७८ जेष्ठ ५, बुधबार, १७: ३३ मा प्रकाशित




काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुले पार्टी विधानमा भएको प्रक्रिया पूरा गरेर राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएको दाबी गरेका छन् ।

अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको विधान नै पारित नभएकाले दलको नेता कसरी चयन हुन्छ भन्ने प्रतिक्रिया दिएलगत्तै अध्यक्ष ठाकुर पक्षका नेताहरुले संसदीय दलको बैठकले विधान पारित गरेर दलको नेता बनाएको दावी गरेका हुन् ।

पार्टी कार्यालय बबरमहलमा बैशाख २९ गते बसेको संसदीय दलको बहुमत सदस्यको बैठकले संसदीय दलको विधान पारित गरेर महतोलाई संसदीय दलको नेतामा चयन गरेको जसपाका नेता एवं सांसद उमाशंकर अरगरियाले बताए ।

संसदीय दलको विधानअनुसार नै प्रकृया पुर्याएर वैशाख ३० गते भक्तपुरको डोलेश्वर रिसोर्टमा बसेको बैठकले महतोलाई नेता चयन गरेको उनले बताए । जसपाका २१ जना सांसदको हस्ताक्षरबाट विधान पारित भएको अरगरियाले बताए । जसपामा ३२ जना सांसद रहेका छन् । उनले भने, संसदीय दलबाट विधान पारित भएको माइन्युट र विधान पनि संसद सचिवालयमा बुझाएको छ, त्यहाँ गएर हेर्दा हुन्छ ।’

संसदीय दलको विधानको मस्यौदा तयार गर्न पार्टीका कार्यकारिणी सदस्यहरु अनिलकुमार झा र रामसहाय यादवलाई जिम्मेवारी दिएको थियो । गत फागुन २८ गते बसेको संसदीय दलको बैठकमा उनीहरुले विधानको मस्यौदा पेस गरेका थिए । तर, मस्यौदा पूर्ण नरहेको भन्दै अझै परस्कृत बनाएर पछि पेस गर्न बैठकले निर्देशन दिएको थियो ।

त्यसपछि संसदीय दलको बैठक नै बसेन । मस्यौदा तयारी समितिका सदस्य एवं जसपाका सांसद रामसहाय यादवले विधानको मस्यौदा बैठकमा पेस नै भएको छैन अनि त्यो कसरी पारित हुन्छ भनि आश्चर्य प्रकट गरे । उनले भने, पार्टीले हामी (अनिल झा र रामसहाय यादव) लाई संसदीय दलको विधानको मस्यौदा तयार गर्ने जिम्मेवारी दिएको थियो । हामीले अहिलेसम्म संसदीय दललाई त्यो मस्यौदा बुझाएका छैनौं, मस्यौदा तयारीकै अवस्थामा छ ।’

तर कार्यकारिणी सदस्य अनिलकुमार झाले आफूले पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई विधानको मस्यौदा बुझाइसकेको र रामसहाय यादवले के गरे, आफूलाई जानकारी नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top