ताजा समाचार


प्रदेश २ : दाजुभाइको हत्यामा संलग्न रहेको आशंकामा एक युवक पक्राउ

द रियल समाचार     २०७८ जेष्ठ ४, मंगलवार, १८: २२ मा प्रकाशित




बारा । प्रदेश २ को बारा जिल्लामा भएको दाजुभाइको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलैयाका स्थानीय २८ वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । डीएसपी मिश्रले अनुसन्धान जारी रहेकाले पक्राउ परेका व्यक्तिको पहिचान गोप्य राखिएको जानकारी दिए ।

उनले भने, ‘स्थानीय एक युवकलाई दुबै बालकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेका छौँ । उनलाई प्रहरी हिरासतमा राखेर घटनाको समबन्धमा थप अनुसन्धान भईरहेको छ ।’

मंगलबार बिहान कलैया उपमहानगरपालिका वडा नम्बर–७ निवासी जफार अन्सारीका छोराहरु ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको थियो ।

सोमबार साँझ खेल्न भनेर घरबाट निस्किएका दुबै बालक रातिदेखि नै बेपता भएका थिए । धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा वडा नम्बर–७ कै मदर्साको निर्माणाधिन भवनमा दुबै बालकको शव फेला परेपछि महोत्तरीको बर्दिबासबाट गएको तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान गरेको थियो ।

घटनाको प्रकृति हेर्दा हत्या नै गरिएकोले दुबै बालकको कसले र किन हत्या गर्यो भन्ने विषयमा थप अनुसन्धान जारी रहेको डीएसपी मिश्रको भनाइ छ । हत्या गरिएका बालक सामान्य परिवारको रहेकाले धन सम्पतिभन्दा पनि व्यक्तिगत रिसइबीले कसैले हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरीको आशंका छ ।

मृतक दुबै बालकको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top