ताजा समाचार


प्रदेश २ : मन्त्री यादवको संयोजकत्वमा अक्सिजन अनुगमन व्यवस्थापन समिति गठन

द रियल समाचार     २०७८ जेष्ठ ४, मंगलवार, १८: ०७ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले कोरोना संक्रमितहरुको उपचारका लागि अक्सिजनको अभाव हुन नदिन आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवको नेतृत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको छ ।

मंगलबार बसेको प्रादेशिक कोभिड संकट व्यवस्थापन समिति (पीसिसिएमसी) को बैठकले पछिल्लो समयमा प्रदेश भित्र रहेका अक्सिजन प्लान्टहरुबाट बाहिर अक्सिजन पठाएको हुँदा प्रदेशमा अक्सिजनको अभाव देखिएकोले उक्त समस्या समाधान गर्न मन्त्री यादवको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखहरु रहने गरि समिति गठन गर्ने निर्णय गरेको हो ।

उक्त समितिले प्रदेश भित्रका अक्सिजन उद्योगहरुबाट दैनिक उत्पादन हुने संख्या र वितरण प्रणालीको अनुमन गर्ने बताइएको छ ।
त्यसैगरि बैठकले कोरोना संक्रमितहरुको उपचार भईरहेको प्रदेशभित्रका सरकारी तथा नीजि अस्पतालहरुको अनुगमनका लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा विज्ञ समूह गठन समेत गरेको छ ।

उक्त समितिले प्रदेशभित्रका अस्पतालहरुको अनुगमन निरीक्षण गर्नुका साथै अस्पतालहरुलाई दिनुपर्ने सुविधाका सम्बन्धमा प्रदेश सरकारलाई सुझाव दिनेछ । समितिलाई आवश्यकता अनुसार निजी अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारको व्यवस्था मिलाउन आइएमओ गर्न प्रदेश सरकारमा सिफारिस गर्ने क्षेत्राधिकार दिइएको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न पिसिसिएमसीको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, प्रमुख सचिव गोकर्ण मणि दुवाडी, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साह, नेपाली सेनाका सहायक रथी शिशिर चन्द्र केसी, नेपाल प्रहरीका डिआइजी धिरज प्रताप सिंह, शसस्त्र प्रहरीका डिआजी चन्द्र प्रकाश गौतम, अनुसन्धान निर्देशक हरिहर पौडेल सहितकाहरुके उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top