सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा एक उपमेयरको निधन भएको छ ।
जिल्लाको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको कोरोना संक्रमणबाट निधन भएको वडा नम्बर–५ का वडाध्यक्ष दिपक लेखीले जानकारी दिए ।
उनको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङहोम तथा विराटनगर अस्पतालमा मंगलबार बिहान ४ बजे निधन भएको उनले बताए । दुई साता अघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य चौकीमा एन्टिजेन परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको परिवारजनले जनाएका छन् । ३ दिन अघि मात्रै उनको पेटमा रहेको बच्चा पनि मृत अवस्थामा निकालिएको थियो । वच्चाका कारण पनि उनलाई थप असहज भएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् । उनको ७ वर्षीय एक छोरा छन् ।
दोस्रो लहरको कोरोनाकालमा सप्तकोशीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ पुगेको वडाध्यक्ष लेखीले जानकारी दिए ।
प्रतिक्रिया