ताजा समाचार


अक्सिजन अभावका कारण जनकपुरधामस्थित एक अस्पतालमा संक्रमितको मृत्यु

द रियल समाचार     २०७८ जेष्ठ ३, सोमबार, १८: ३८ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधामस्थित एक अस्पतालमा अक्सिजन अभावका कारण आज पुनः एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

जनकपुरधामस्थित चन्द्रकला हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा उपचाररत २९ वर्षीय एक युवकको अक्सिजन अभावका कारण सोमबार बिहान ५ बजे मृत्यु भएको हो ।

अस्पतालमा भएको अक्सिजन आइतबार सकिएपछि आईसीयूमा उपचाररत रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–३ बनबहरि बस्ने फिरोज मन्सुरीको सोमबार बिहान मृत्यु भएको अस्पतालका म्यानेजर रोशन कुमार यादवले जानकारी दिए ।

गत बैशाख २३ गतेदेखि सोही अस्पतालमा उपचार गराईरहेका उनको शरीरको अक्सिजन लेभल आइतबार राति अचानक ४० मा झरेको अस्पतालमा कार्यरत एक चिकित्सकले बताए ।

उनको उपचारका लागि समयमै अक्सिजन उपलब्ध हुन नसक्दा उनको दुःखद निधन भएको उनले बताए । उनले भने,‘संक्रमितले प्रयोग गरिरहेको सिलिण्डरको अक्सिजन सकियो, अर्को सिलिण्डर दिन नपाउँदा उनको ज्यान गयो ।’

‘अक्सिजन सकिएपछि एकैछिन सप्लाई रोकिएको थियो, अन्यत्रबाट अक्सिजन उपलब्ध हुन नसक्दा उनको ज्यान गयो’ यादवले भने, ‘अक्सिजन अभाव छ भनेर भर्ना नलिन पनि नसक्ने, बचाउन पनि नसक्ने अवस्था आएको छ ।’

अक्सिजन अभाव भएपछि चन्द्रकला हस्पिटलले विगत ५ दिनदेखि नयाँ संक्रमित भर्ना लिन छाडेको छ । यसअघि पनि सोही अस्पतालमा अक्सिजन अभावका कारण दुईजना संक्रमितको मृत्यु भईसकेको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय धनुषाले गत शनिबार मात्रै अस्पतालहरुमा अक्सिजनको सहज आपूर्तिका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपक कुमार कर्णको संयोजकत्वमा ६ सदस्यीय अक्सिजन आपूर्ति र वितरण समिति बनाएपनि त्यो समितिले अहिलेसम्म अक्सिजनको सहज आपूर्तिका लागि कुनै पहल नगरेको यहाँस्थित अस्पतालहरुले आरोप लगाएका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top