ताजा समाचार


मृतक पत्रकारको परिवारलाई ५१ हजार रुपैयाँ राहत उपलब्ध गराउने प्रदेश महासंघको निर्णय

द रियल समाचार     २०७८ जेष्ठ २, आईतवार, १९: २६ मा प्रकाशित




जनकपुरधाम । नेपाल पत्रकार महासंघ प्रदेश २ समितिले कोरोना संक्रमणबाट मृत्यु भएका पत्रकारको परिवारलाई तत्काल ५१ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

महासंघको आइतबार बसेको पहिलो जुम मिटिङ्गबाट कोरोना संक्रमणबाट मृत्यु भएका रौतहटका पत्रकार मनोज कुमार चौधरी र सञ्चार उद्यमी रमादेवी यादवको परिवारलाई तत्काल ५१ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

महासंघका प्रदेश अध्यक्ष राजेश कुमार कर्णको अध्यक्षतामा आइतबार भएको भर्चुअल मिटिङ्गमा सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । भर्चुअल मिटिङ्गमा ११ बुँदामा छलफल गरिएको थियो । मिटिङ्गबाट पत्रकार कल्याण कोष स्थापनाका लागि ११ सदस्यीय समिति समेत चयन गर्ने निर्णय गरिएको छ । अध्यक्ष कर्णको नेतृत्वमा सो समिति चयन हुने भएको छ ।

त्यसैगरी संक्रमित पत्रकारहरुको शीघ्र स्वास्थ्य लाभको कामना र निःशुल्क उपचार हुनुपर्ने, दैनिक समाचार संकलन गर्ने पत्रकारहरुका लागि तत्काल सुरक्षा सामग्रीको व्यवस्था हुनुपर्ने, कार्य समितिको परिचयपत्र बनाउनुपर्ने, खाता सञ्चालन हुनुपर्ने र प्रदेशको आफ्नो वेभसाइट निर्माण गर्नुपर्ने बिषयहरुमाथि पनि छलफल भएको छ ।

त्यस्तै मृतकका सन्तानलाई निःशुल्क पठनपाठनको व्यवस्था हुनुपर्ने, प्रदेशका पत्रकारहरुको स्वस्थ्य बिमा गर्नुपर्ने, लोकल्याणकारी विज्ञापनको माग गर्नुपर्नेलगायतका बिषयमा समेत छलफल भएको थियो ।

प्रिन्ट मिडियालाई मध्यनजर गर्दै बन्दाबन्दीको समयमा प्रेस काउन्सिलमा समयमै पत्रिका नपुग्ने सम्भावना रहेकोले लोकल्याणकारी वापत आउने विज्ञापनको रकम कट्टा नगर्नका लागि पहल गर्ने बिषयमाथि समेत छलफलमा भएको थियो । तत्काल खाता सञ्चालनका लागि इमेलबाट नै माइन्यूट तयार गर्ने र असोज मसान्तभित्र कार्यालय सञ्चालनमा ल्याउने निर्णय गरिएको छ ।

त्यस्तै पत्रकार राहत कोषमा अध्यक्ष राजेश कर्णले २१ हजार, महिला उपाध्यक्ष ज्योति झाले ५ हजार र सदस्य महेश्वर दाहालले ५ हजार रुपैयाँ आ–आफ्नो व्यत्तिगत तर्फबाट जम्मा गर्ने घोषाणा समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top