ताजा समाचार


जनकपुरमा १० दिनभित्र अक्सिजन उद्योग सञ्चालनमा ल्याइँदै

द रियल समाचार     २०७८ जेष्ठ २, आईतवार, १८: ३५ मा प्रकाशित




जनकपुरधाम । कोरोना संक्रमितको संख्या बढेपछि जनकपुरधाममा अक्सिजनको माग समेत बढन थालेको छ । एकातर्फ माग बढिरहेको छ भने अर्कोतर्फ अक्सिजनको अभाव भईरहेको देखिएको छ ।

एकातर्फ कोभिडका विरामीहरुका लागि अक्सिजनको नितान्त आवश्यकता परिरहेको छ भने अर्कोतर्फ ग्यास उद्योगहरुमा अक्सिजनको हाहाकार मचेको छ ।

अक्सिजन अभावकै कारण अस्पतालको शैय्यामा छट्पटाईरहेका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै जनकपुरधाममा श्री रामजानकी ग्यास उद्योगले अक्सिजन उत्पादन सुरु गर्न लागेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ स्थित लादोबेलामा श्रीराम जानकी ग्यास उद्योगले दुई साता भित्रै अक्सिजन उत्पादन गर्ने उद्योगका सञ्चालक विजयकुमार साहले बताए । अक्सिजन उत्पादनका लागि सो उद्योगमा अहिले मेसिन जडान गर्ने कार्यलाई तिव्रता दिएको सञ्चालक साहले बताए । उनले भने, ‘मेसिन जडानको कार्य ७५ प्रतिशत पूरा भईसकेको र पाइपलाइन जडान गर्ने कार्य सम्पन्न भएलगत्तै अक्सिजन उत्पादन चाँडै सुरु हुने छ ।’

उनले उद्योग सञ्चालनमा अझै १० दिन समय लाग्ने बताए । अक्सिजन उत्पादन गर्ने योजना २ वर्षपूर्वकै रहेपनि मेसिन अभावमा सो कार्य हुन नसकेको उनले बताए । उनले भने, ‘होली भन्दा १० दिन अघि भारतको पंजावस्थित हाइटेक कम्पनीबाट मेसिनहरु ल्यायौँ, र अब भारत विहारकै जयनगरबाट मेसिन जडान गर्ने मैकेनिक ईन्जिनियर ल्याएर कार्यलाई यूद्धस्तरमा अगाडी बढाएका छौँ ।’

सो उद्योगको मेसिन जडान गर्ने काम भारत जयनगरका म्याकेनिक इन्जिनियर पुरुषोत्तम शर्माले गरिरहेका छन् । उनले अक्सिजन उत्पादन गर्ने सबै मेसिन जडान भईसकेको र अक्सिजन फिलिङ्ग गर्ने पाइपलाइनको काम सम्पन्न हुन करिब १० दिन लाग्ने बताए ।

अक्सिजन उत्पादन गर्नका लागि आवश्यक एयर कम्प्रेसर, मोइस्चर सेप्रेसन, एयर फिल्टर, कार्बन फिल्टर, अमोनिया फिल्टर, एयर सेप्रेसन युनिट, फिलिंग युनिट लगायतका यन्त्रहरु जडान भईसकेको उनले बताए । सञ्चालक साहले भने, ‘मेसिनहरु जडान भईसकेपछि दिनमा ५ सय भन्दा बढी ठूलो अक्सिजन सिलिण्डर भर्नसक्ने क्षमता रहेपनि तत्काल २ सय सिलिण्डर भर्न सकेमा हाम्रो लागि सफलता हुनेछ ।’

धनुषामा विगतमा दैनिक २ सय सिलिण्डर अक्सिजन खपत हुदैँ आईरहेको अवस्थामा अहिले कोरोना महामारीको बेला ५ सय सिलिण्डर भन्दा बढी खपत भईरहेको छ । तर सो अक्सिजन सिलिन्डर ग्यास समेत उपलब्ध नहुदाँ धनुषामा दिनहुँ ३ जनाको दरले कोरोना संक्रमितहरुले ज्यान गुमाईरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top