ताजा समाचार


जमिरिया देवी धर्मशालामा बस्ने कुष्ठरोगीलाई दानापानीको चिन्ताले सताउँदै !

द रियल समाचार     २०७८ जेष्ठ १, शनिबार, १८: ०५ मा प्रकाशित




–किरण कर्ण, जनकपुरधाम ।
कोरोना संक्रमणको दोस्रो लहरको भेरिएन्टबाट प्रदेश नम्बर २ मा दिनहुँ सयौँको संख्यामा संक्रमित फेला परिरहेका छन् भने मर्नेहरुको संख्यामा समेत दिनहुँ वृद्धि भईरहेको छ ।

सरकारले दोश्रो चरणको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ को ८ वटै जिल्लामा निषेधाज्ञा जारी गरेको छ । दुई साता भन्दा लामो समयदेखि स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण निम्न तथा मध्यम वर्गिय समुदाय निकै समस्याबाट गुज्रिरहेका छन् ।

निषेधाज्ञाका कारण घर बाहिर गएर काम गर्न सकिरहेको अवस्था छैन । समाजबाट बहिष्कृत रहेका समुदाय मन्दिर अगाडी बसेर भिख माग्ने र फोहोर सामग्री जम्मा गरेर मजदुरी गर्दै जिवनयापन गर्दै आएकाहरु निकै समस्याबाट गुज्रिरहेका छन् । भीख माँगेर दुई छाकको जोहो गरि जिवनयापन गर्दै आएकाहरुको लागि कोरोनाले भन्दा पनि निषेधाज्ञाले ज्यान जाने देखिन्छ ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम वडा नम्बर–७ मा जमिरिया देवी धर्मशालामा कुष्ठरोगीहरु लामो समयदेखि बसोबास गर्दै आएका छन् । सो भवन कुष्ठ रोगीहरुकै लागि निर्माण गरिएको हो । विगत ४ दशक भन्दा लामो समयदेखि धनुषा जिल्लामा कुष्ठरोगी फेला परेकालाई समाजबाट बहिष्कार गर्ने चलन थियो र दर्जनौँ कुष्ठरोगीहरुको लागि स्थानीय जमिरिया देवीले आफ्नो नाममा कुष्ठरोगीहरुकै लागि सो धर्मशाला नै निर्माण गरि बास स्थान दिएका छन् ।

त्यसपछि कुष्ठरागीहरु निको भएर पनि त्यही बसोबास गर्दै आईरहेका छन् । त्यस धर्मशालालाई कोढीया समाज भनेर पनि चिन्ने गरिन्छ । अहिले यस जमिरिया देवी धर्मशालामा बालबालिका सहित करिब ३० जना बसोबास गर्दै आईरहेका छन् । यस धर्मशालामा बसोबास गर्ने बालबालिका देखि ज्येष्ठ नागरिकसम्म भिक मागेर वा फोहोरको थुुप्रो बेचेर जिविकोपार्जन गर्दै आएका छन् ।

मागेर दुई छाक टार्नेहरुलाई बसोबासका लागि समस्या नभएपनि दानापानीको चिन्ताले उनीहरुलाई सताउन थालेको छ । पोहोर वर्ष कोरोना संक्रमणको त्रासकै कारण लगाइएको निषेधाज्ञाको समयमा विभिन्न दाता तथा स्थानीय सरकार, प्रदेश सरकारले राहत बाँडेकोले समस्या भएको थिएन । तर यसपालीको निषेधाज्ञामा कोही पनि निषेधाज्ञा लागेको दुई साता भन्दा लामो समय वितेपनि अहिलेसम्म पनि कुनै समाजसेवी दाता अग्रसर नहुदाँ मगन्ते देखि रिक्सा चलाए गुजारा गर्दै आएका मजदुरहरु चिन्तित हुन थालेका छन् ।

निषेधाज्ञा नहुँदा ४५ वर्षिय सुरेश सदा दिनहुँ फोहोरमा फालिएको प्लाष्टिक, प्लाष्टिकका बोतल लगायतका सामग्रीहरु जम्मा गरेर कबाड़मा बिक्री गर्थे । दिनभरमा जम्मा गरेको सामग्रीहरु बिक्री गर्दा जम्मा ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म कमाउथ्यो । सदाले जम्मा गर्ने प्लाष्टिक कबाडमा गएर विक्री गर्दा प्रति किलोग्राम वापत ३० रुपैयाँ मूल्य पाउँथ्यो । सदाले भने, ‘दिनभरीमा ६० रुपैयाँ सम्म कमाई हुन्थ्यो, तर निषेधाज्ञा लागेपछि त्यो कमाई पनि बन्द भयो ।’

यस धर्मशालामा सदाको श्रीमती, भान्जी र बहिनी छिन् । श्रीमती भने अशक्त छिन् । उनले भने– मेरो कमाईले केही हुनेबाला छैन, त्यसैले शरिरले अशक्त मेरी श्रीमती पनि भीख माग्न बाहिर जान्थिन् । उनले अघि थप्दै भने– ‘दुवै जनाले दिनभरमा ल्याएको रुपैयाँबाट नै घरमा चुल्हो जल्थ्यो, तर निषेधाज्ञाका कारण हातमुख जोड्ने माध्यम नै बन्द भयो ।’

यता, बेचन मण्डलको समस्या भने पीडादायी नै छ । ५३ वर्षिय बेचन मण्डल केही दिन अगाडी मात्रै आफ्नो ९५ वर्षिया आमा गुमाएका छन भने आफ्नो १८ वर्षिय छोरो रामईश्वर मण्डललाई समेत गुमाए । छोरालाई रक्सी खाने खराब बानीले लिभरमा समस्या आयो र उसको मृत्यु भयो । परिवारका दुई जना सदस्यलाई गुमाएपछि परिवारमा अहिले ४ जना सदस्य छन् । आमाको काजक्रियामा बसेका बेचन पीडादायी अवस्थाबाट गुज्रिदा पनि परिवारलाई कसरी पाल्ने र कसरी हातमुख जोड्ने भन्ने कुराले सताईरहेको उनले बताए ।

कबाड़ीको काम गर्दै आएका बेचनको कमाईको माध्यम थियो । तर निषेधाज्ञाका कारण सो कार्य पनि बन्द भएपछि दिनमा खायो भने राति के खाने र राति खायो भने दिनमा के खाने भन्ने कुरा सताईरहन्छ । जमिरिया देवी धर्मशालामा भीख मागेर गुजारा चलाउने दुई वृद्धा जगतोरिया देवी र चाइना देवी पनि बसोबास गर्छिन् । ७५ वर्षिय जगतोरिया देवीले भनिन्– पेटले त मान्दैन भीख मागेर पनि खाली पेट त भर्नै पर्छ । उनले भनिन्– मेरो घरमा म एक्लै छु न श्रीमान छ, न सन्तान, ‘बन्दी भएपछि भीख माग्न पनि समस्या छ, भीख माग्न बाहिर निस्कियो प्रहरीले हामीलाई धपाउदैँ लखेट्छ । उनले अब कसरी बाच्ने भन्दै प्रतिप्रश्न गछ्र्रिन् ।

जमिरिया देवी धर्मशालामा बसोबास गर्दै आएकाहरु व्यथा आ–आफ्नै भएपनि एउटै कुराले चिन्तित बनेका छन् भने भोककै कारणले मर्ने हो की भन्ने कुराले उनीहरुलाई सताएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञालाई लम्ब्याउँदै गर्दा समस्या उत्पन्न हुन थालेको बताए । उनले सरकारले गरिब निमुखा मजदुरहरुको समस्यालाई मध्यनजर गरेको बताए । वडाध्यक्ष साहले निषेधाज्ञा लम्बिदै गयो भने वडा कार्यालयबाटै भएपनि उनीहरुका लागि राहत व्यवस्था गरि उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top