ताजा समाचार


महोत्तरीमा एक अपाङ्ग युवती बलात्कृत, अभियुक्त फरार

द रियल समाचार     २०७८ जेष्ठ १, शनिबार, १७: २३ मा प्रकाशित




जनकपुरधाम । महोत्तरीमा एक अपाङ्ग युवतीमाथि जबरजस्ती करणी गरिएको घटना बाहिरिएको छ ।

जिल्लाको बलवा नगरपालिका वडा नम्बर–११ बस्ने शारीरिक र मानसिक रुपमा अस्वस्थ रहेकी (पूर्ण अशक्त, हातखुट्ट् बांगो भएको तथा हिँडडुल गर्न असमर्थ र बोल्न पनि नसक्ने) एक २० वर्षीया युवतीलाई घरमा कोही नभएको मौका छोपी ३५ वर्षीय एक पुरुषले बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

वैशाख २६ गते बलवा नगरपालिका वडा नम्बर–११ निकाल टोल बस्ने ३५ वर्षीय ताहिर भनिने राजाउल्लाह शेषले ती अपाङ्ग युवतीलाई बलात्कार गरेका हुन् । उक्त घटनालाई गाउँका केही अगुवाहरुले गाउँमै मिलाउन पीडित परिवारलाई दबाब दिएको बताइएको छ । यद्यपि, पीडित परिवारले नमानेपछि आरोपी अहिले फरार भएका छन् ।

घटना बाहिरिएपछि पीडित परिवारजनलाई गाउँमै घटना मिलाउन दबाब दिने क्रम बढेको छ । उनीहरु आफ्नो परिवार असुरक्षित भएको र न्यायको लागि पत्रकार, मानवअधिकारकर्मीहरुसँग गुहार मागिरहेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरिक्षक दिनेशकुमार आचार्यले फरार दोषीको खोजी कार्य भइरहेको बताए । उनले भने, ‘गाउँमा छलफल भइसकेपछि मात्रै हामीकहाँ जानकारी गराएका रहेछन् । ढिला जानकारी प्राप्त हुँदा दोषी फरार भएको छ ।’

फरार अभियुक्तलाई पक्राउ गरेपछि अनुसन्धान सुरु हुने एसपी आचार्यको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top