ताजा समाचार


मृतक पत्रकारको परिवारलाई राहत उपलब्ध गराउन महासंघले सरकारसँग गरे आग्रह

द रियल समाचार     २०७८ बैशाख ३१, शुक्रबार, ००: ०१ मा प्रकाशित




जनकपुरधाम । कोभिड-१९ को संक्रमणबाट मृत्यु भएका रौतहटका पत्रकार र सञ्चारउद्यमीको परिवारलाई तत्काल राहत उपलब्ध गराउन नेपाल पत्रकार महासंघ प्रदेश २ समितिले प्रदेश सरकारसँग माग गरेको छ ।

बिहीबार प्रदेश सरकारका प्रवक्ता समेत रहेका  आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै महासंघले बुधबार मृत्यु भएका रेडियो मधेश मशालाका स्टेशन म्यानेजर मनोज कुमार चौधरी र रेड टेलिभिजनका अध्यक्ष सञ्चारउद्यमी रमादेवी यादवको परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको हो ।

ज्ञापनपत्रमा प्रदेश सरकारले गतवर्ष फ्रन्टलाईनमा रहेर काम गर्ने पत्रकारलाई कार्यक्षेत्रमा संक्रमित भई मृत्यु भएमा उचित राहत उपलब्ध गराउने घोषणा गरेको र सो घोषणा अनुरुप ५० लाख रुपैयाँ बजेट समेत छुटयाएको कुरा स्मरण गराउँदै मृतक पत्रकारद्वयलाई राहत उपलब्ध गराई दिन माग गरिएको छ ।

महासंघका अध्यक्ष राजेश कुमार कर्णले बुझाएको ज्ञापनपत्रमा प्रदेशभरिमा १६ जना पत्रकारहरु अझै कोरोना संक्रमित रहेकोले  तिनीहरुको निःशुल्क उपचारको व्यवस्था मिलाइदिन समेत प्रदेश सरकारसँग आग्रह गरिएको छ ।

साथै समाचार सम्प्रेषण तथा संकलनका लागि फ्रन्टलाईनरको रुपमा खटने पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराई दिन समेत माग गरिएको छ ।

ज्ञापनपत्र बुभ्दै मन्त्री यादवले पत्रकार महासंघले उठाएका मागलाई सकारात्मक रुपमा लिएको भन्दै आफूले गत वर्ष गरेको घोषणा अनुसार मृतक पत्रकारद्वयलाई उचित राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

उनले संक्रमित पत्रकारहरूलाई सरकारीका साथै निजी अस्पतालहरूमा समेत निःशुल्क उपचारको व्यवस्था मिलाउने तयारी प्रदेश सरकारले गरिरहेको बताए । साथै पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री मन्त्रालय मातहत रहेको मिडिया काउन्सिल मार्फत उपलब्ध गराइने प्रतिवद्धता समेत जनाए ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष राजेश कुमार कर्ण, महिला उपाध्यक्ष ज्योति झा, सदस्यहरु संजय राउत, हदिश खुद्दार, कैलाश दास, अजय साह, प्रतिभा झा सहितका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top