ताजा समाचार


ठाकुरले आफूनिकट सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखे

द रियल समाचार     २०७८ बैशाख ३०, बिहीबार, १६: ३६ मा प्रकाशित




काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूनिकट सांसदहरुलाई भक्तपुरको एक रिसोर्टमा राखेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी बहुमतको दुई वा दुई भन्दा धेरै दल मिलेर सरकार बनाउन दिएको समय आज राति घर्किन लाग्दा ठाकुरले आफू पक्षीय सांसदलाई रिसोर्टमा भेला गरेका हुन् ।

हिजो मात्रै उपेन्द्र यादव पक्षले ठाकुर पक्षका तीनजना सांसद लुकाएको खबर आएको थियो । यो घटनाका कारण चनाखो भएका ठाकुरले आफूनिकटहरुलाई एकै ठाउँ राखेका हुन् ।

नयाँ सरकार निर्माणका लागि कांग्रेस र माओवादीलाई साथ दिन नसक्ने अडान लिएका ठाकुर पक्षीय १५ जना सांसद रिसोर्टमा पुगिसकेका छन् । ठाकुर पक्षीय दुई जना सांसद कोरोना लागेका कारण उपचाररत छन् ।

बाँकी सांसदहरुलाई उनले बैठक भन्दै रिसोर्टमा भेला गरेका हुन् । कांग्रेस सभापति देउवाले आजै बहुमत संख्या १३६ सांसदको हस्ताक्षरसहित सरकारमा दाबी गर्ने बताएपछि ठाकुरले सांसदहरुलाई रिसोर्टमा राखेर ’होल्ड’ गराएका हुन् ।

आफू पक्षीय सांसदहरुलाई देउवासँग सत्ता सहकार्य कोसिसमा रहेका उपेन्द्र यादवले तान्न सक्ने भयले उनले यस्तो निर्णय लिएका हुन् । ’हामीलाई यहाँ बैठक भनेर बोलाइएको छ । ठाउँ पनि खुलाउन निषेध गरिएको छ’, एकजना सांसदले भने, ’कसैले दायाँ बायाँ नगरोस् भनेर भेला गरेको हुन सक्छ । अहिले हामी यहाँ जम्मा हुँदैछौँ ।’
–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top