ताजा समाचार


तोडफोड एवं कर्मचारीमाथि हातपात गर्नेलाई कारबाहीको माग

द रियल समाचार     २०७८ बैशाख २९, बुधबार, १६: ०८ मा प्रकाशित




जनकपुरधाम । जनकपुर प्रादेशिक अस्पतालले कोभिड–१९ अस्पतालमा तोडफोड एवं कर्मचारीमाथि हातपात गर्नेलाई कडा कारबाहीको माग गरेको छ ।

एक विज्ञप्ती जारी गर्दै अस्पतालले मंगलबार साँझ अस्पतालको भेन्टिलेटर कक्षभित्र प्रवेश गरेर तोडफोड एवं कोभिड–१९ विशेष अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ्ग, पारामेडिक्स तथा मर्मत सम्भारमा लागेका कर्मचारीहरुमाथि हातपात गर्ने व्यक्तिहरुमाथि कडा कारवाहीको माग गरेको हो ।

विश्वव्यापी महामारीको विषम परिस्थितिमा अहोरात्र बिरामीको सेवामा खटिरहेका कर्मचारीहरुमाथि हातपात गरेको भन्दै अस्पतालले घटनाको भत्र्सना गर्दै कारबाहीको माग गरेको छ ।

कोभिड–१९ विशेष अस्पतालमा डाक्टरसँग सल्लाह नै नगरी सोझै बिरामीलाई भेन्टिलेटरमा राखेर नयाँ बिरामीका कुरुवा र अन्य अज्ञात व्यक्तिले हो–हल्ला गरी स्वास्थ्यकर्मी र कर्मचारीमाथि हातपात गरेको अस्पतालको आरोप छ । अस्पतालले आईसीयूमा तीनवटा नयाँ जडान भएका भेन्टिलेटर मेसिनलगायत अन्य उपकरण तोडफोड भएकाले क्षतिपूर्तिको सोधभर्ना गराउन समेत माग गरेको हो ।

मंगलबार साँझ साढे ५ बजेको समयमा कोभिड अस्पताल जनकपुरको प्रांगणमा जलेश्वर अस्पतालबाट रेफर गरिएका जलेश्वर नगरपालिका–४ सुगा बस्ने ५३ वर्षीय सुखचैन महतोको मृत्यु भएको थियो ।

अस्पतालले समयमै भर्ना नलिँदा मृत्यु भएको भन्दै उनका दुईछोरासहित आफन्तले अस्पतालमा तोडफोड गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top