ताजा समाचार


चिकित्सकको लापरवाहीका कारण संक्रमितको मृत्यु, अस्पतालमा तोडफोड गरेको आरोपमा मृतकका दुई छोरा पक्राउ

द रियल समाचार     २०७८ बैशाख २८, मंगलवार, २३: ५४ मा प्रकाशित




जनकपुरधाम। कोभिड-१९ विशेष अस्पताल जनकपुरमा चिकित्सकको लापरवाहीका कारण एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको आरोप लगाइएको छ ।

मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर-४ सुगा बस्ने अन्दाजी ५३ वर्षीय सुखचैन महतो रहेका छन् ।

कोरोना संक्रमित भएपछि उपचारका लागि कोभिड विशेष अस्पताल पुगेका महतोले समयमै उपचार पाउन नसक्दा मृत्यु भएको मृतकका छोरा निरज महतोले आरोप लगाएका छन् ।

महतोले भने,’मैले आफ्नो बुवालाई थप उपचारका लागि जलेश्वरबाट जनकपुर ल्याए । तर, यहाँ अस्पतालमा बिरामीको बारेमा चासो लिने न त कुनै नर्स थिए, न कुनै डाक्टर नै । कसैले बिरामीलाई हेर्न समेत आएनन्।’

आफ्नो बुवालाई अक्सिजनको आवश्यकता रहेको भनेपनि त्यहाँ अक्सिजन लगाइदिने कोहि थिएन्,’उनले भने,’ केहि बेर पछि अस्पतालकै कुनै एकजना आएर अक्सिजनको सिलिन्डर दियो, तर सिलिन्डर दिएपनि त्यसमा माथिको पाइप थिएन् । म बाहिरको औषधि पसलमा अक्सिजनको पाइप लिन निस्के। दाईहरु त्यहिँ बस्नुभयो । फर्केर पुनः अस्पताल पुग्दा मेरो बुवाको मृत्यु भईसकेको थियो ।’

बुवाको मृत्यु पश्चात निरज र उनका दाईहरु तथा अन्य बिरामीका कुरुवाहरुले आक्रोशमा आएर त्यहाँ तोडफोड गरेका छन् ।

बिहानैदेखि सबै बिरामीको त्यस्तै अवस्था भएर अन्य बिरामीको कुरुवाहरु पनि आक्रोशित रहेकोले उनीहरू तोडफोडमा उत्रेका थिए । आक्रोशित भीडले कोभिड अस्पतालका एक कर्मचारीमाथि समेत हातपात गरेका थिए ।

यता, प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोद यादवले स्वास्थ्यकर्मीलाई हातपात गर्दै आईसीयु कक्षमा ताेडफाेड गरिएको दाबी गरेका छन् ।

उनले आईसीयु कक्षकाे ३ वटा भेन्टिलेटर सेट क्षतिग्रस्त भएको बताए । उनले चिकित्सककाे लापरवाहीका कारण बिरामीकाे मृत्यु भएकाे आराेप गलत रहेकाे जिकिर समेत गरे ।

उनले भने,’ बिरामी सिकिस्त अवस्थामै जलेश्वर अस्पतालबाट रेफर भएर आएका थिए । चिकित्सकले बिरामीकाे रिपाेर्ट पनि हेर्न नपाउँदै उनको मृत्यु भयो । मृतकका आफन्तले बलजफ्ती आईसीयु कक्षमा राखेको १५ मिनेट नबित्दै उनकाे मृत्यु भयो ।’

मेसु यादवले बिरामीकाे मृत्यु हुनासाथ मृतकका छोराहरुले स्थानीयकाे सहयाेगमा ड्युटीमा खटिएका ४/५ जना स्वास्थ्यकर्मीलाई कुटपिट गर्द‌ै आईसीयु कक्षमा रहेकाे ३ वटा भेन्टिलेटर इँटा प्रहार गरी तोडफोड गरेको आरोप लगाएका छन् ।

काेभिड अस्पतालमा केही व्यक्तिहरुले तोडफोड गरिरहेकाे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटेकाे प्रहरी टोलीले घटनास्थलबाट मृतकका छोराहरु मनाेज महताे र पप्पु महताेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

यता, मृतकका दुई छोरा प्रहरी नियन्त्रणमा रहेकाे र कान्छो छोरा एक्लै अस्पतालमा रहेकोले उनलाई बुवाको शव लग्न सहयोग गर्ने कोहि नभएपछि उनी बिच्चलीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top