ताजा समाचार


महामारी नियन्त्रणका लागि नयाँ कदम चाल्नुको विकल्प छैन् : स्वास्थ्यमन्त्री त्रिपाठी

द रियल समाचार     २०७८ बैशाख २८, मंगलवार, १८: ४३ मा प्रकाशित




काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारी नियन्त्रणका लागि नयाँ कदम चाल्नुको विकल्प नरहेको बताएका छन् । अहिलेसम्म चालिएको निषेधाज्ञाले महामारी नियन्त्रण सम्भव नरहेको भन्दै नयाँ कदम चाल्नुपर्ने बताएका हुन् ।

आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले महामारी नियन्त्रणमा ढिलाइ भएको भन्दै नयाँ कदमबारे सरकारले तत्काल निर्णय गर्ने बताए । ‘अहिलेसम्मको कदमले महामारी नियन्त्रण गर्ने अवस्था देखिएन । अब हामीले देशभर लकडाउन वा स्वास्थ्य संकटकाल लगाउनुको अरू विकल्प छैन । सरकारले यसबारे चाँडै निर्णय गर्नुपर्छ ’ मन्त्री त्रिपाठीले भने ।

स्वास्थ्य मन्त्रालयले गरेको पूर्व तयारी कमजोर रहेको स्वीकार गर्दै अब कडा कदमसहित महामारी नियन्त्रणमा लाग्नुपर्ने उनको भनाइ छ ।
मन्त्रालयले धेरै पहिला नै महामारी नियन्त्रणका लागि सरकारका अन्य निकायसँग समन्वय गरेर अगाडि बढ्न खोजेको भन्दै त्यसमा साथ र सहयोग कम पाइएको जानकारी दिए । ‘निषेधाज्ञा, विद्यालय बन्द, भीडभाड नियन्त्रणजस्ता कामका लागि हामीले धेरै पहिला नै प्रस्ताव लगेका थियौँ । त्यो समयमा पारित हुन आनाकानी भयो । जुन परिणाम अहिले भोग्नुपरेको छ ’ मन्त्री त्रिपाठीले भने ।

खोप आयातका लागि सरकार खोप निर्माता कम्पनीहरूसँग गहन छलफलमा रहेको मन्त्री त्रिपाठीले जनाएका छन् । भारत, चीन, रुस, बेलायत लगायतका देशसँग खोप आयातका लागि कुराकानी भइरहेको उनले बताए । ‘जति सक्दो चाँडो खोप आयातका लागि सम्बन्धित देशका राजदूत, कम्पनीसँग छलफल, कुटनीतिक पहल गरिरहेका छौँ । अहिले फैलिएको दोस्रो लहरको महामारीका कारण ढिलाइ भइरहेको छ’ उनले भने ।

खोप आयातमा कुनै पनि खालको भ्रस्टाचार नभएको मन्त्री त्रिपाठीले प्रष्ट पारेका छन् । सरकारले सिधै कम्पनीसँग खोप खरिद गरेको भन्दै मन्त्री त्रिपाठीले सत्यतथ्य समाचार मात्र सम्प्रेषण गर्न पत्रकारहरूसँग आग्रह गरे ।
–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top