ताजा समाचार


स्टकिस्टद्वारा जनकपुर बजारमा औषधिको कृत्रिम अभाव

द रियल समाचार     २०७८ बैशाख २८, मंगलवार, १८: ०४ मा प्रकाशित




जनकपुरधाम । कोरोना संक्रमण तिव्रगतिले बढ्दै गईरहेको अवस्थामा जनकपुर बजारमा औषधि अभाव सुरु भएको छ ।

औषधि अभाव हुँदा संक्रमितको उपचार समेत प्रभावित भएको छ । यहाँका स्टकिस्टहरुले बजारमा औषधिको कृत्रिम अभाव सिर्जना गरेको औषधि पसल सञ्चालकहरुले बताएका छन् ।

कोरानाको उपचारका लागि पहिलो चरणमै आवश्यक पर्ने औषधिहरुको जनकपुरधाम बजारमा अभाव भईरहेको देखिएको छ । स्टकिस्टहरुले विगतमा आवश्यक औषधि उपलब्ध गराउँदै आएपनि अहिले कोरोनाको समयमा कृत्रिम अभाव सिर्जना गरेको एक औषधि व्यवसायीले बताए ।

जनकपुरधामको अस्पताल रोडस्थित जालान मेडिकल हलका सञ्चालक सुमित जालानले स्टकिस्टहरुले आवश्यक औषधि उपलब्ध नगराएपछि अबको एक हप्तामा पसल नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताए । उनले संक्रमितका लागि आवश्यक पर्ने पहिलो चरणकै औषधिहरुको बजारमा अभाव भएको गुनासो सुनाए । बजारमा औषधि उपलब्ध हुन छाडेपछि संक्रमितको उपचारमा समस्या हुने उनले बताए ।

कुनैपनि व्यक्ति कोरोना संक्रमित हुनेवित्तिकै उनका लागि आवश्यक पर्ने जिङ्क ट्याबलेट, भिटामिन सि, भिटामिन डि, एजिथ्रोमाइसिन, पारासिटामोल, आइबरमेट्रिन,इभरमेटिसिन, एस्पिरीन,डेक्सामेथासोन,प्रेडनिसोलोन,डक्सीसाइक्लिन, लो मोलिकुल वेट हेपारिन लगायतका औषधि तथा इन्जेक्सनहरुको जनकपुरधाम बजारमा कृत्रिम अभाव सिर्जना गरिएको उनले बताए ।

जनकपुरका स्टकिस्टहरुले औषधि मगाएपनि खुद्रा व्यापारीको पसलसम्म सहज रुपमा नपुेगेको भरोसा मेडिकल हलका सञ्चालक आनन्द बिक्रमले बताए । उनले वीरगञ्जबाट औषधि आइरहेपनि जनकपुरका स्टकिस्टहरुले भने ति औषधिहरु बजारमा सहज रुपमा पुग्न नदिएको गुनासो सुनाएका छन् ।

यस सम्बन्धमा स्टकिस्ट मध्येका एक पि मेडिसिनका सञ्चालक प्रमोद अग्रवालले बजारमा औषधि सहज रुपमा उपलब्ध नरहेपनि आफूहरु यसतर्फ निरन्तर पहल गरिरहेको बताए । उनले स्टकिस्टहरुले औषधिको बजारमा कुनै प्रकारको कृत्रिम अभाव सिर्जना भने नगरेको दाबी गरे ।

उनले विगतको तुलनामा बजारमा औषधिको माग ह्वात्तै बढेकोले अभाव सिर्जना हुनु स्वभाविक रहेको बताए । उनले आफूसँग उपलब्ध भईरहेको औषधि बजारमा सहज रुपमा उपलब्ध गराईरहेको दाबी समेत गरे । औषधि अभावका कारण कसैको ज्यान नजाओस भन्ने उदेश्यका साथ आफूहरु निरन्तर लागिपरको अग्रवालको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top