ताजा समाचार


अक्सिमिटरमा कालोबजारी गरेको आरोपमा ७ जना पक्राउ

द रियल समाचार     २०७८ बैशाख २८, मंगलवार, १५: ४८ मा प्रकाशित




काठमाण्डौ । अक्सिमिटरमा कालोबजारी गरेको आरोपमा प्रहरीले काठमाण्डौबाट ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको बल्खु बस्ने बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक २९ वर्षीय शिखर श्रेष्ठ, बाजुरा खप्तड गाउँपालिका–६ घर भई हाल ललितपुर महानगरपालिका–५ कुपन्डोल बस्ने २१ वर्षीय थुमराज उपाध्याय, स्याङ्जा पञ्चमूल गाउँपालिका–६ घर भई हाल ललितपुर महानगरपालिका–१४ ग्वार्को बस्ने नानोटेक फर्मा थापाथलीका सञ्चालक २७ वर्षीय शेषकान्त अधिकारी, सुनसरी इनरुवा नगरपालिका–६ घर भई हाल भीमसेनगोला बस्ने चिरायु केडी ग्रुप प्रालिमा काम गर्ने ३९ वर्षीय पुष्कर घिमिरे, मोरङ विराटनगर महानगरपालिका–२ घर भई हाल अनामनगर बस्ने इन्डस्ट्रियल कम्पनी प्रालिमा कार्यरत ४४ वर्षीय विशाल आचार्य, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ घर भई हाल बागबजार बस्ने २१ वर्षीय सन्तोष भण्डारी र भारत राजस्थान झुन्झुनु घर भई हाल ढुङ्गेअड्डा बस्ने ५५ वर्षीय जगदीशप्रसाद रानासरिया रहेका छन् ।

६/७ सय पर्ने अक्सिमिटर सर्वसाधारणलाई २ हजार २२० भन्दा धेरै मूल्यमा बिक्री गरी कालोबजारी गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरी टोली परिचालन भएको थियो ।

प्रहरीले उत्पादन मिति, म्याद समाप्त मिति, खरिद–बिक्री मूल्य, उत्पादक कम्पनीको नाम लगायत केहीपनि उल्लेख नभएको कमसल, गुणस्तरहीन र कम मूल्यको ७६५ थान नक्कली अक्सिमिटर बरामद गरेको हो । संयुक्त रूपमा गरिएको अनुगमनको क्रममा उक्त सामान बरामद भएको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी, औषधी व्यवस्था विभाग तथा वाणिज्य विभाग समेतको संयुक्त टोलीले अनुगमन गरेको थियो । बायोप्लस फार्मेसी कुलेश्वरबाट ८५ थान, नानोटेक फर्मा थापाथलीबाट २४ थान, चिरायु केडी ग्रुप प्रालिबाट ९ थान, जगदीश प्रसाद रानासरियाको साथबाट ३९६, सन्तोष भण्डारीको साथबाट ९१ थान अक्सिमिटर बरामद भएको हो ।

चिरायु केडी ग्रुपले रुपन्देही अक्सिमिटर एन.के.लोजिस्टिकमा पठाएको १६० थान अक्सिमिटर समेत स्थानीय प्रहरीसँगको समन्वयमा बरामद गरिएको अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top