ताजा समाचार


प्रधानमन्त्री ओली स्वतः पदमुक्त, आजैबाट कामचलाउमा परिणत

द रियल समाचार     २०७८ बैशाख २७, सोमबार, १८: २३ मा प्रकाशित




काठमाण्डौ । संसदबाट विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक व्यवस्था अनुसार स्वतः पदमुक्त भएका छन् । संसदबाट विश्वासको मत पाउन नसकेका उनी स्वतः पदमुक्त भएर कामचलाउमा परिणत भएका हुन् ।

ओलीले मागेको विश्वासको मतको पक्षमा उनकै पार्टी नेकपा एमालेका ९३ सांसदले मतदान गरे । विपक्षमा नेपाली कांग्रेसका ६१, माओवादीका ४८ र जनता समाजवादी पार्टीका १५ सहित १२४ सांसदहरुले मतदान गरे ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका १५ जना सांसदहरूले पक्ष वा विपक्ष दुवैतर्फ मत नदिएर तटस्थ बसे । सभामुख अग्नि सापकोटाका अनुसार आजको प्रतिनिधिसभा बैठकमा २३२ सांसद उपस्थित थिए ।

मत विभाजनपछि सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेको घोषणा गर्दै बैठक स्थगित गरिदिए । नेपालको संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री स्वतः पदमुक्त भएर काम चलाउमा परिणत हुन्छन् ।

प्रधानमन्त्रीले संविधानको धारा १०० अनुसार विश्वासको मत लिन खोजेका थिए । संविधानको धारा १०० को १ मा ‘प्रधानमन्त्रीले कुनै पनि समय आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठाने प्रतिनिधिसभामा प्रस्ताव लैजान सक्ने’व्यवस्था गरिएको छ ।

त्यस्तै उक्त धाराको उपधारा ३ मा विश्वासको मत लिने प्रस्ताव ‘प्रतिनिधिसभामा तत्काल कायम रहेका सबै सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री पदबाट मुक्त हुने’ व्यवस्था छ । संविधानको त्यो व्यवस्था बमोजिम प्रधानमन्त्री ओली पदमुक्त भएका छन् ।

उनी आजैबाट काम चलाउमा परिणत भएका छन् । उनकै नेतृत्व या अरुको नेतृत्वमा नयाँ सरकार नबनेसम्म ओलीले कामचलाउका रुपमा भूमिका निर्वाह गर्ने छन् ।
–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top