ताजा समाचार


प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल, पक्षमा ९३ र विपक्षमा १२४ मत खस्यो

द रियल समाचार     २०७८ बैशाख २७, सोमबार, १८: ०६ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भएका छन् । सोमबार भएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा भएको मत विभाजनमा विश्वासको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको हो ।

आजको संसद बैठकमा २३२ जना सांसद उपस्थित रहेका थिए । प्रधानमन्त्रीले संविधानको धारा १०० बमोजिम विश्वासको मत लिन खोजेका थिए । धारा १०० को १ मा ‘प्रधानमन्त्रीले कुनै पनि समय आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठाने प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्न सक्ने’, उल्लेख गरिएको छ ।

विश्वासको मत लिन असफल भएपछि उनले आजै राजीनामा दिने तयारी छ । आफूलाई प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रमाणित गर्न हाल कायम संख्या २७१ को कम्तिमा बहुमत अर्थात् १३६ मत पाउनु आवश्यक थियो ।

प्रतिनिधिसभामा भएको मतदानमा ओलीको पक्षमा एमाले सांसदले मतदान गरेका थिए । उनकै दलका ‘समानान्तर समूह’का नेताहरु पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल समूह अनुपस्थित भएपछि उनको पक्षमा ९३ मत मात्रै खसेको हो ।

खनाल अस्पतालमा छन् भने नेपालले आफू पक्षधर सांसदलाई नजान निर्देशन दिएका थिए । नेपालले सांसदहरुलाई प्रतिनिधिसभाबाट राजीनामा गराउने प्रयास गरेपनि समानान्तर समूहका नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्टले रोकेका थिए ।

उनीहरुले आफ्नै दलका अध्यक्ष ओलीलाई विश्वासको मत दिनुपर्ने बताएका थिए । तर नेपाल, भीम रावल, विरोध खतिवडालगायत नेपाल पक्षले नमानेपछि संसदमा उपस्थित नभएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top