ताजा समाचार


एसइई र कक्षा १२ को परीक्षा स्थगित

द रियल समाचार     २०७८ बैशाख २७, सोमबार, १७: ३५ मा प्रकाशित




काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरस संक्रमणका कारण यस वर्षको एसइई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

सोमबार बसेको बोर्डको बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसइई र जेठ २६ गतेबाट सञ्चालन हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । कोभिडको संक्रमणको कारण परीक्षा सञ्चालन गर्नसक्ने अवस्था नरहेकाले तत्कालका परीक्षा स्थागित गरेको उनले बताए । अर्को सूचना नहुञ्जेलसम्मको लागि परीक्षा स्थगित गरेको पौडेलले बताए ।

जेठ १३ गतेबाट तय भएको एसइईका लागि प्रश्नपत्र छपाइको काम सकिएको छ । यो परीक्षामा देशभरबाट ५ लाख १७ हजार विद्यार्थी एसइईको तयारीमा रहेका छन् ।

यस्तै कक्षा १२ को हकमा अनलाइनबाट प्रश्नपत्र पठाउने र घर पायक परीक्षा केन्द्रबाट परीक्षा लिने तयारी गरेको छ । बोर्डको बैठकले एसइई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने अध्ययन गर्न ५ सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

कोरोनाको संक्रमण कायमै रहेर भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने अवस्था नरहे के कसरी अघि बढ्ने मोडालिटी तय गर्न कार्यदल बनाइएको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top