ताजा समाचार


लोक सेवा अध्यक्षमा माधव र अख्तियारमा दिलीपको नाम सिफारिस

द रियल समाचार     २०७८ बैशाख २६, आईतवार, १४: ३६ मा प्रकाशित




काठमाण्डौ । संवैधानिक परिषद्को आइतवार बसेको बैठकले दुईवटा संवैधानिक निकायमा नियुक्तिको टुंगो लगाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले लोक सेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्तिको टुंगो लगाएको हो ।

लोक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव माधव रेग्मीलाई नियुक्त गर्ने निर्णय संवैधानिक परिषद्ले गरेको छ । उनी सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका दाजु पनि हुन् । उनी यसअघि लोकसेवा आयोगमा पनि सचिवका रुपमा कार्यरत थिए । पाँच वर्षअघि आयोगको सचिवबाट अवकाश पाएका ५९ वर्षीय रेग्मी झापाको गौरादह नगरपालिका–३ का बासिन्दा हुन् । रेग्मीले विभिन्न पदमा रहेर आठ वर्ष आयोगमा काम गरेका थिए ।

त्यस्तै रिक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का पूर्व प्रमुख दिलीप रेग्मीलाई लैजाने निर्णय गरेको छ । त्यस्तै, निर्वाचन आयोगमा पूर्व सचिव वीरबहादुर राईलाई नियुक्तिको निर्णय गरेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा तथा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित भएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले बैठक बहिस्कार गरेका थिए । कांग्रेस सभापति देउवाले सरकारले संविधान विरोधी काम गरेको भन्दै बैठक अस्वीकार गरेका थिए ।

कांग्रेसले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रधानमन्त्रीले ल्याएकोमा बिमति जनाइसकेको छ । सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबिनै बैठक बस्न सक्ने गरी गत वैशाख २१ मा सरकारले अध्यादेश ल्याएको थियो ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने अघिल्लो दिन संवैधानिक परिषद बैठक राखेका थिए । ओलीले प्रतिनिधि सभाबाट भोलि सोमबार विश्वासको मत लिँदैछन् ।
–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top