ताजा समाचार


शनिबारको पहिलो खेलमा ललितपुर सिटी एफसी विजयी

द रियल समाचार     २०७८ बैशाख २५, शनिबार, १८: १६ मा प्रकाशित




काठमाण्डौ । नेपाल सुपर लिगअन्तर्गत शनिबारको पहिलो खेलमा ललितपुर सिटी एफसी विजयी भएको छ । उसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० खेलाडीमा सीमित विराटनगर सिटी एफसीमाथि ४–० को सहज जित हात पारेको हो ।

खेलको ३६औँ मिनेटमा कप्तान अञ्जन विष्टले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । ६३ औँ मिनेटमा अञ्जनको पासलाई सदुपयोग गर्दै विमल रानाले टोलीको अग्रता दोब्बर बनाए ।

८१औँ मिनेटमा कमल श्रेष्ठको क्रसमा अञ्जनले हेडमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । थप गरिएको समयमा नुर्लान जाहिदले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

८५औँ मिनेटमा विराटनगर १० खेलाडीमा सीमित बन्यो । विजय धिमालले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेका हुन् । जितसँगै प्ले अफमा स्थान सुरक्षित गरेको ललितपुर ६ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।

पराजयसँगै प्रतियोगिताबाट बाहिरिएको विराटनगर ६ खेलबाट ७ अंक जोड्दै पाँचौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top