काठमाण्डौ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव नल्याउने निर्णय गरेको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले तत्कालै प्रधानमन्त्री ओलिविरूद्ध अविश्वास प्रस्ताव ल्याइरहनुपर्ने अवस्था नरहेको ठहर गरेको हो ।
उक्त बैठकले प्रधानमन्त्री ओली आफैँले वैशाख २७ गते ओली आफैँले विश्वासको मत लिने निर्णय गरिसकेकाले अहिले उनीविरुद्ध कुनै निर्णयको आवश्यकता नरहेको निचोड निकालेको हो । कांग्रेसले ओलीले वैशाख २७ मा विश्वासको मत जुटाउन सक्ने अवस्था नभएकाले अहिले अविश्वास प्रस्ताव ल्याउन जरुरी नरहेको ठहर गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
कांग्रेसले ओलीविरुद्धको अविश्वास प्रस्तावबारे कुनै गृहकार्य पनि नगरेको जनाएको छ। बैठकले वैशाख २७ मा प्रधानमन्त्रीविरुद्ध मतदान गर्ने निर्णय लिएको छ । यसअघि भएको निर्णय जस्तै कांग्रेसले ओलीको विकल्पमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय लिएको खाँणले जानकारी दिए ।
वैशाख २७ मा ओली सत्ताबाट बाहिरिने निचोडसहित कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन अन्य दलसँग छलफल गर्ने भएको छ । आजको बैठकले चैत २१ गतेको केन्द्रीय कार्यसमितिको निर्णय पनि अनुमोदन गरेको खाँणले बताए ।
कांग्रेसले आजको बैठकमा कोभिड नियन्त्रणमा सरकार पूरै असफल भएको पनि निचोड निकालेको छ । उसले सकारको अकर्मण्यताको आलोचना गर्दै प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएको छ ।
–फरकधार
प्रतिक्रिया