ताजा समाचार


उपचार अभावमा कोरोना संक्रमितको मृत्यु

द रियल समाचार     २०७८ बैशाख २५, शनिबार, १६: ४९ मा प्रकाशित




जनकपुरधाम। महोत्तरीमा उपचार अभावमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकास्थित जलेश्वर अस्पतालमा उपचार अभावमा ४२ वर्षिय कोरोना संक्रमित महोत्तरी गाउँपालिका वडा नम्बर–४ बस्ने ४२ वर्षिय रघुनाथ पाण्डेयको मृत्यु भएको हो ।

जलेश्वर अस्पतालमा एकवर्ष अघि नै जडान गरिएको भेन्टिलेटर जनशक्ति अभावका कारण सञ्चालन हुन नपाएको कारण समयमा उपचार नपाउँदा पाण्डेयको अनाहकमै ज्यान गएको मृतकका आफन्त वैभव चौधरीले आरोप लगाए ।

पाण्डेय सर्लाहीको धनकौल गाउँपालिकाको शिक्षा संयोजक थिए । बिहीबार श्वासप्रश्वासमा समस्या आएपछि पाण्डेयलाई जलेश्वर आस्पतालको आइसोलेसन कक्षमा अक्सिजन सहित उपचार भइरहेको थियो । शुक्रबार एन्टिजेन विधिबाट परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको उपचारमा संलग्न एक चिकित्सकले शनिबार राती उनलाई थप उपचारका लागि भेन्टिलेटरमा राख्नुपर्ने कुरा परिवारजनलाई जानकारी गराएका थिए । पाण्डेयका परिवारजनले राति साढे १० बजे एम्बुलेन्सको व्यवस्था भएपछि उपचारका लागि जनकपुर लग्दैगर्दा बाटोमै उनको मृत्यु भएको जलेश्वर अस्पताल विकास समितका अध्यक्ष सुरेश पाण्डेयले बताए ।

भेन्टिलेटर हुँदाहुँदै पनि प्रदेश सरकारले आवश्यक जनशक्ति परिचालन गर्न नसक्दा अनाहकमै संक्रमितको मृत्यु हुने जोखिम बढिरहेको छ ।
महोत्तरीको जलेश्वर अस्पतालमा भेन्टिलेटर जडान गरेपनि सेवा सञ्चालनका लागि जनशक्तिको अभावले भेन्टिलेटर सञ्चालन हुन सकेको छैन । सामाजिक विकास मन्त्रालयको सहयोगमा जलेश्वर अस्पतालमा गत वर्ष पाँचवटा भेन्टिलेटर जडान गरिएको थियो ।

सो अस्पतालमा आइसियुसहित पाँचवटा भेन्टिलेटर र अन्य उपकरण जडान गर्न २ करोड ५५ लाख ५२ हजार खर्च भएको थियो । गत वर्षमात्रै ३ करोड ४३ लाख खर्च गरेर जलेश्वरमा बनाइएको कोभिड विशेष अस्पताल अहिले कामविहीन बनेको छ । दक्ष जनशक्तिको अभावले भेन्टिलेटर र आइसियु सञ्चालन हुनसक्ने अवस्था छैन ।

अहिलेसम्म दोस्रो लहरको बेला पनि जलेश्वरमा कोभिड विशेष अस्पताल सञ्चालनमा आउन सकेको छैन । गत वर्ष सो अस्पतालमा विभिन्न शीर्षकमा गरी कोभिड नियन्त्रणका नाममा ८ करोडभन्दा बढी रुपैयाँ खर्च भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top