ताजा समाचार


सिरहामा डिजे बन्द गराउन गएका प्रहरीमाथि हातपात,३ जना समातिए

द रियल समाचार     २०७८ बैशाख २४, शुक्रबार, १६: २६ मा प्रकाशित




–विनय यादव, सिरहा । सिरहामा डिजे बन्द गराउन गएका प्रहरीमाथि हातपात भएको छ ।

कल्याणपुर नगरपालिका–११ स्थित मटकोरमा चर्को आवाजमा बजाइरहेको डिजे बन्द गराउन गएका प्रहरी सहायक निरीक्षक सुरेन्द्र यादव र प्रहरी जवान भोगेन्द्र यादवमाथि स्थानीय युवाहरूले हातपात गरेका हुन् ।

प्रहरी सहायक निरीक्षक यादव इलाका प्रहरी कार्यालय कल्याणपुरका इञ्चार्ज हुन् । बुधबार राति साढे १० बजेको समयमा मटकोरमा प्रतिबन्धित डिजे बाजा र अश्लिल गीत नबजाउन तथा भीडभाड नगर्न आग्रह गर्दा प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी शालिग्राम शर्माले जानकारी दिए ।

‘चार–पाँच जना प्रहरी ड्युटीमा खटेका बेला चर्को आवाजमा डिजे बजेको देख्दा नबजाउन आग्रह गरेपछि दुई प्रहरीमाथि हातपात हो,’ उनले भने । जिल्लामा कोभिड–१९ को बढ्दो कहरका कारण २५ जनाभन्दा भेला नहुन तथा भीडभाड नगर्न डीसीसीएमसीले आदेश जारी गरेपनि उनीहरू झण्डै सय बढीको संख्यामा उपस्थित भएर नाचिरहेका थिए ।

सम्झाउँदा नमानेपछि बाजा नियन्त्रणमा लिन खोजेपछि युवाहरुको समूहले एकाएक प्रहरीमाथि जाइलागेको प्रहरी सहायक निरीक्षक यादवले बताए । प्रहरीले डिजे बाजा तथा प्रहरीमाथि हातपातमा संलग्न बेहुलासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

बेहुलालाई भने तारेखमा छाडिएको छ । उनीहरूमाथि अभद्र व्यवहारको मुद्दा चलाइएको प्रहरीले जनाएको छ । चर्को आवाजमा बजाइने डिजे बाजा तथा अश्लील गीतमाथि जिल्लामा प्रतिबन्ध लगाइएपनि अटेरी गर्दै त्यसको बेवास्ता हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top