ताजा समाचार


शुक्रबार रातिदेखि रौतहट जिल्लाभरि निषेधाज्ञा

द रियल समाचार     २०७८ बैशाख २३, बिहीबार, १८: ५८ मा प्रकाशित




जनकपुरधाम । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि स्थानीय प्रशासनले शुक्रबार रातिदेखि रौतहट जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लामा संक्रमणको गति बढिरहेकोले वैशाख २४ गते शुक्रबार राति १२ बजेदेखि वैशाख ३१ गते शुक्रबार राति १२ बजेसम्मका लागि जिल्लाभरि निषेधाज्ञा लगाइएको जानकारी दिएका छन् ।

प्रजिअ यादवले कोरोना संक्रमणको दर अत्यधिक बृद्धिसँगै केहि व्यक्तिको मृत्यु समेत भएको अवस्थामा संक्रमणको चेन ब्रेक गरी न्यूनीकरण तथा रोकथाम गर्नका लागि नेपाल सरकारको निर्णय तथा स्थानीय वस्तुस्थिती मूल्यांकन गर्दा केहि समय निषेध गरी नियन्त्रणमा प्रभावकरीता ल्याउनुपर्ने जरुरी देखिएकोले रौतहट जिल्लाभर लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको बताए ।

प्रजिअ यादवले नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा र स्थल एक हप्तासम्मका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार जिल्लाभरि निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

प्रशासनले औषधि उपचार एवं आदेशमा उल्लेख भएबमोजिमका अत्यावश्यक कामका लागि बाहेक सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, ब्युटिपार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालयलगायत सञ्चालन गर्नसमेत रोक लगाइएको छ ।
विवाह, व्रतवन्धजस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जनासम्म सहभागी भई स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी गर्न सकिने र सो प्रयोजनका लागि बढीमा २ वटा साना गाडी र एउटा ठूलो गाडीमा शुभविवाहको ब्यानर राखी सञ्चालन गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ ।

प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top