ताजा समाचार


कोरोना संक्रमितका लागि देशभर ४७२ अस्पतालमा २० हजार बेड

द रियल समाचार     २०७८ बैशाख २३, बिहीबार, १६: ५६ मा प्रकाशित




काठमाण्डौ । सरकारले कोरोना संक्रमितका लागि देशभर ४७२ अस्पतालमा झण्डै २० हजार बेड रहेको जनाएको छ ।

गृह मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमितको उपचारका लागि देशभर ४७२ अस्पताल, १९ हजार ८८२ बेड, १ हजार ७१४ आइसियु र ६९२ वटा भेन्टिलेटर रहेको जनाएको छ ।

देशभरका ३१ वटा अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट रहेको र ती प्लान्टबाट दैनिक २ हजार ५४९ सिलिन्डर अक्सिजन भर्न सकिनेछ । तीन वटा अस्पतालमा तरल अक्सिजन भर्न सकिने ट्यांक उपलब्ध भएको र स्वास्थ्य संस्थाहरूमा सेवा लिनका लागि ६ हजार २८८ अक्सिजन सिलिन्डर प्रयोग भइरहेको छ ।

दैनिक १ हजार ४११.५ लिटर अक्सिजन खपत भइरहेको समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिएको छ । कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकार मन्त्रिपरिषदबाट समय–समयमा भएका आदेश र प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दा दिएको निर्देशन कार्यान्वयनको समीक्षा गर्न बैठक बसेको थियो ।

वैशाख २२ गते मुख्य सचिवको अध्यक्षतामा बसेको कोभिड सहजीकरणको बैठक र उपप्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको थियो । सोही बैठकले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि निर्णय कार्यान्वय गर्ने निकाय, सहयोगी निकाय र समयसीमा तोकी कार्ययोजना तयार गरी सम्बन्धित निकायमा कार्यान्वयनका लागि समेत पठाइसकेको प्रवक्ता शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top