ताजा समाचार


निषेधाज्ञाको दोस्रो दिन जनकपुरधाम सुनसान (फोटोफिचर)

द रियल समाचार     २०७८ बैशाख २२, बुधबार, १६: १५ मा प्रकाशित




जनकपुरधाम । कोरोना संक्रमणको दोस्रो भेरियन्टको गति तिव्र रुपमा फैलिँदै गएपछि स्थानीय प्रशासनले मंगलबारदेखि जारी गरेको निषेधाज्ञाको दोस्रो दिन जनकपुरधाम बजार क्षेत्र पूर्ण रुपमा बन्द देखिएको छ ।

निषेधाज्ञा जारी भएपश्चात मंगलबार बिहानैदेखि बजारक्षेत्र सुनसान भएको छ । भिडभाड देखिने नगर तथा बजार क्षेत्र निषेधाज्ञा पश्चात सुनसान देखिएको हो ।

नगरक्षेत्रको ठाउँठाउँमा व्यापक संख्यामा प्रहरी परिचालन गरिएको छ । अत्यावश्यक बाहेकका सवारी साधनहरु सडकमा चलेका छैनन् भने पैदल हिंडडुल गर्नेको संख्या पनि न्यून देखिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले सुरक्षा योजन बमोजिम निषेधाज्ञामा धनुषा जिल्लाभरि ६५० जना प्रहरी परिचालन गरिएको जानकारी दिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले प्रदेश २ मा धनुषा जिल्लामा संक्रमणको गति दोस्रो स्थानमा पुगेको र समुदाय स्तरमा कोरोना फैलिएकोले मंगलबार बिहान ६ बजेदेखि बैशाख ३१ गते शुक्रबार राति १२ बजेसम्मका लागि जिल्लाभरि निषेधाज्ञा लगाइएको जानकारी दिए ।

प्रजिअ बास्तोलाले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु १० दिनसम्मका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार धनुषा जिल्लाभरि निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

प्रशासनले औषधी उपचार एवं आदेशमा उल्लेख भए बमोजिमका अत्यावश्यक कामका लागि बाहेक सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । राति ९ बजेदेखि बिहान ५ बजेसम्म सडकमा हिंडडुल गर्न समेत रोक लगाइएको छ ।

निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ्ग पुल, सपिङ्ग मल, हाज बजार, मनोरञ्जन स्थल, सैलुन, ब्युटि पार्लर, जिम खाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालयलगायतकाहरु सञ्चालन गर्न समेत रोक लगाइएको छ भने विवाह, व्रतवन्ध जस्ता सामाजिक कार्यको हकमा बढिमा १५ जनासम्म सहभागी भई स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी गर्न सकिने र सो प्रयोजनका लागि बढिमा २ वटा साना गाडी र एउटा ठुलो गाडीमा शुभविवाहको ब्यानर राखि सञ्चालन गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ ।

मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, दुरसञ्चार, इन्टरनेट, एम्बुलेन्स, दमकल, शववाहन, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, फलफुल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षीको दानालगायत दुवानीका सवारी साधनहरु, आइसोलेसन एवं होल्डीङ्ग सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमति प्राप्त (पास) सवारी साधनहरु, सरकारी तथा सार्वजनिक संस्थानका सवारी साधनहरु बाहेक अन्य सबै प्रकारका निजी तथा सावैजनिक यातायातका सवारी साधनहरु (पूर्व पश्चिम राजमार्गमा वारपार गर्ने बाहेक) समेत सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ ।

खाद्य वस्तु, खाना पकाउने ग्यास र निर्माण सामग्रीसँग सम्बन्धित व्यवसायहरु बिहान ६ बजेदेखि ९ बजेसम्म र औषधी तथा स्वास्थ्य सेवासँग सम्बन्धित पसलहरु चौबिसौं घण्टा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी सञ्चालन गर्न पाईने उल्लेख छ । प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top