ताजा समाचार


उपचार अभावमा परियारको मृत्यु, निजी अस्पतालले भन्यो,‘पहिले पैसा तिर्नुस त्यसपछि उपचार हुन्छ’

द रियल समाचार     २०७८ बैशाख २१, मंगलवार, १७: १९ मा प्रकाशित




जनकपुरधाम । धनुषामा समयमै उपचार पाउन नसकेपछि एक विरामीको ज्यान गएको छ ।

ज्यान जानेमा जिल्लाको बटेश्वर गाउँपालिका वडा नम्बर–४ स्थित ससुराली घर बस्दै आएका करिव ४५ वर्षीय लोकबहादुर परियार रहेका छन् । गत चार दिनदेखि ज्वरो र रुघाखोकी लागेका परियारलाई अस्पताल पुर्याइएपनि समयमै उपचार पाउन नसक्दा उनको मृत्यु भएको हो ।

सोमबार राति करिव ८ बजे श्वासप्रश्वासमा अचानक समस्या देखिएपछि उपचारका लागि उनी बटेश्वर बजारस्थित आरपी मेडिकल हलमा पुगेका थिए । तर, त्यहाँ उनको उपचार सम्भव नभएको भन्दै आरपी मेडिकल हलका सञ्चालक सुवोध साहले प्रादेशिक अस्पताल जान सुझाव दिए ।

उनलाई एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल ल्याइएपनि अस्पतालले यहाँ आइसोलेसन सेन्टर खाली नरहेको भन्दै अन्यत्र लान भनेको थियो । एम्बुलेन्स चालक रामबाबु महतोले प्रादेशिक अस्पतालबाट फर्काएर बिरामीलाई जानकी हेल्थ केयर र रामजानकी अस्पताल पुर्याए । तर ति अस्पतालहरुले परियारलाई भर्ना गर्न मानेनन् । त्यसपछि बाध्य भएर एम्बुलेन्स चालक महतोले उनलाई पुनः गाउँकै आरपी मेडिकल हल लगे । तर त्यहाँ अक्सिजन नभएका कारण उनको मृत्यु भएको चालक महतोले बताए ।

उनले भने,‘बिरामीलाई जनकपुर लग्ने बेला श्वासप्रश्वासमा समस्या देखेपछि मैले एम्बुलेन्समै अक्सिजन लगाइदिएको थिएँ । यहाँ आउँदा अस्पतालले भर्ना गर्न मानेन । निजी हस्पिटल जाँदा पहिले नै पैसा डिपोजिट गर्न भन्यो । तर, आइसियूमा भर्ना हुन अस्पतालले मागेजति पैसा परियारसँग नहुँदा उनले मलाई फेरि घर पुर्याइदिन भनेका थिए । मैले पुर्याइदिएँ । बिहान थाहा भयो की उनी बितिसके ।’

परियारको शवलाई नेपाली सेनाको टोलीले गाउँ नजिकैको खोलामा व्यवस्थापन गरेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी चौकी बटेश्वरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top