ताजा समाचार


कोरोनासँग जुध्न प्रदेश २ मा विभिन्न अस्पतालाका लागि ४१७ दरबन्दी थपियो

द रियल समाचार     २०७८ बैशाख २०, सोमबार, १७: ४५ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना महामारीसँग जुध्न प्रदेशभरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि ४१७ अस्थायी दरबन्दी थपेको छ ।

सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३ , प्रादेशिक अस्पतालका लागि १७४, सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालका लागी ३२/३२, लहान अस्पतालका लागि २३ र भारदह तथा पोखरिया अस्पतालका लागि १५/१५ जनाको दरबन्दी थप गर्ने निर्णय गरेको छ ।

कोरोना उपचार तथा नियन्त्रणका लागि थप गरिएको दरबन्दीहरुमा एनेस्थेसियोलोजिष्ट देखी लिएर स्वीपरसम्मको पद रहेको छ । थप गरिएका दरबन्दीहरुमा अस्पतालले आवश्यकताको आधारमा तुरन्त नियुक्त गर्नसक्ने व्यवस्था गरिएको छ ।

बैठकले कोरोना महामारीसँग जुध्न प्रदेश सरकारका मन्त्रीहरुलाई जिल्ला–जिल्लाको जिम्मेवारी दिँदै फोकल मन्त्री समेत निर्धारण गरेको छ ।
जसअन्तर्गत सप्तरी जिल्लाका लागि भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सिरहा जिल्लाका लागि आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादव, धनुषा र महोत्तरीका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, सर्लाही र रौतहटका लागि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश राय र बारा तथा पर्सा जिल्लाका लागि भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ ।

जिम्मेवारी तोकिएका मन्त्रीहरु सम्बन्धित जिल्ला र प्रदेश सरकारका बीच कोरोना महामारी नियन्त्रणका लागि पूलको रुपमा काम गर्ने भएका छन् । बैठकले यसअघि पिसिसिएमसीको निर्णयहरुलाई समेत अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top