ताजा समाचार


प्रदेश २ का मुख्यमन्त्रीलाई कोभिड समस्याको सन्दर्भमा नेता लालको ६ बुँदे ध्यानाकर्षण पत्र

द रियल समाचार     २०७८ बैशाख २०, सोमबार, १७: २१ मा प्रकाशित




माननीय मुख्यमन्त्री ज्यू
प्रदेश सरकार, प्रदेश २ ।

विषय :कोभिड–१९ को उपचार र सबैको लागि टीकाकरणको निमित्त विशेष योजना र अभियान संचालित गरियोस् ।

माननीय मुख्यमन्त्री ज्यू,
१. कोभिड–१९ को महामारी अहिले विश्वमै मानवजातिको निमित्त सबभन्दा ठूलो खतराको रुपमा उपस्थित भएको छ । यसको पहिलो चरणले नै विश्व हल्लिएको थियो भने नयाँ–नयाँ स्ट्रेनहरुका आक्रमणले दुनियाँ लडखडाइरहेको अवस्थामा देखिन्छ । कोविडको टीकाकरणको चलिरहेको प्रयासले यसलाई रोक्ने कोशिश निश्चय नै गरेको छ । यसो नभएको भए शायद, मानव जातिको अझ कयौं गुणा विनाश निश्चित थियो । सम्पन्न राष्ट्रहरू नियन्त्रण र उपचारको क्षेत्रमा आगाडि देखिए पनि हामी जस्ता आर्थिक श्रोत–साधनमा कमजोर राष्ट्रहरू अहिले ठूलो सङ्कटमा छन् । नेपालमा कोभिडको संक्रमणको वृद्धि अनियन्त्रित जस्तो भएको छ । हाम्रो मधेश प्रदेशको कुरा गर्ने हो जनसंख्या, शैली र खुला सिमानाका कारणले यसलाई अत्यन्त खतराउन्मुख क्षेत्रको रुपमा मान्नै पर्ने हुन्छ ।

कोभिडबारे उपलब्ध प्रायसः जानकारी र यसबाट आगाडि आउन सक्ने यावत् परिस्थितिको अन्दाज माननीय मुख्यमन्त्री ज्यूलाई छँदै छ । यहाँले पहिलो चरणताका यसलाई नियन्त्रित गर्न क्षमताले भ्याएसम्म प्रयत्न गर्नु भएको थियो । अहिले पनि गरिरहनु भएकै होला । जनकपुरको मणिपाल हस्पीटलको स्थललाई कोभिड उपचारकेन्द्रको रुपमा शिघ्रातिशिघ्र विकसित गर्ने कुरा सुनेको छु । यसका निमित्त प्रारम्भदेखि नै अपील गरिरहने मध्ये म पनि एक भएको हुनाले यस निर्णयले खुशी भएको छु र साधुवाद दिन चाहन्छु ।

२. तथापि, कोभिडको पहिलोचरणको क्रम र त्यसको अनुभव लिए पछि पनि प्रदेशको कोभिड नियन्त्रसँग सम्बन्धित जिम्मेवार मन्त्रालय, विभाग लगायतका संयन्त्रहरू अर्को चरणको सङ्कट पनि आउन सक्ने, नयाँ–नयाँ भेरियन्ट–स्ट्रेनहरू हुन सक्ने, त्यस्तो अवस्थामा उपचारको निमित्त तम्तयार रहनु पर्ने अथवा खोपको आविष्कार भएपछि टीकाकरणको काम गर्नु पर्ने कुराहरु तर्फ गम्भीर रहेको भने देखिएन । स्थानीय निकायहरुसंग समन्वयपक्ष समेत कमजोर देखियो । पहिलो चरणमा भएका खर्चहरू दोस्रो चरणको मुकाबिला गर्ने रणनीतिसंग जोडिएको तर्फ कहींकतै रहेको देखिएन, महशूस गरिएन । सबै क्षेत्रमा ‘महामारी आउँछ जान्छ’ भन्ने मानसिकता रहेको पाइयो । प्रदेश वा स्थानीय तहहरू समेत अनुकरणीय योजना, रणनीति वा अन्य कुनै अवधारणा दिन सक्दछ भन्ने सोचसम्म रहेको देखिएन । जसले जे भने पनि वा प्रचार जे गर्ने प्रयास भए पनि परिणामले यही देखाउँछ । यस तर्फ यहाँको ध्यान जाओस् भनी अत्यन्त विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु किनभने अनुसूची ६ बमोजिम ‘स्वास्थ्य सेवा’ प्रदेशको संवैधानिक जिम्मेवारी नै हो ।

३. कोभिडका रोगीहरूको उपचारको हरसम्भव व्यवस्था होस् । कम से कम ८ वटै जिल्लालाई ध्यानमा राखी सबै क्षेत्रका रोगीलाई यथासम्भव पायक पर्ने गरी आवश्यक उपकरणहरू सहितका ३/४ वटा अस्पतालहरूमा उपचारको व्यवस्था होस् । हरेक जिल्लामा आवश्यकतानुसार अस्पतालहरु तोकियोस् । प्राइभेट अस्पतालहरूमा छुट्टै वार्ड निर्माण गरी सम्भव कम से कम शुल्कमा उपचारको अनिवार्य व्यवस्थाको सुनिश्चितताको निमित्त आवश्यक कदम चालियोस् । यस सम्बन्धी आवश्यक रणनीतिको निर्माणको लागि र त्यसको कार्यान्वयन पक्षको सुपरिवेक्षणको निमित्त राजनीतिक आग्रह बिनाको प्रतिवद्ध विज्ञहरुको संयन्त्रको सक्रियताको अपरिहार्य आवश्यकताप्रति पनि ध्यान आकृष्ट गराउन चाहन्छु ।

४. लकडाउनले कोभिडको महामारीको संक्रमण गतिलाई केही समयको निमित्त मत्थर पार्न सक्दछ तर सामूहिक प्रतिरोध–क्षमता (Herd–Immunity) नहुन्जेल कोभिडको चरणवद्ध आक्रमणको मुकाबिला गर्न सकिन्न । कोभिडको लहर र त्यसको बाध्यकारी परिणामले हुने लकडाउनका कारण आर्थिक गतिविधिहरू ध्वस्त हुने हुँदा देश मात्र होइन, हाम्रो प्रदेश झन आर्थिक रुपले जर्जर हुन जानेछ । सामूहिक प्रतिरोध–क्षमताको सबभन्दा राम्रो उपाय टीकाकरण हो । त्यसकारण, टीकाकरणमा लगानी, व्यवस्थापन, समन्वयमा सहजीकरण समेत प्रदेश सरकारको महत्वपूर्ण जिम्मेवारी हुन जान्छ । संघीय स्वास्थ्य मन्त्रालयले यसका लागि गरिरहेको व्यवस्था माथि नै भर परेर हुन सक्दैन । हाम्रो प्रदेशमा अहिलेसम्म उमेरमा ज्येष्ठहरूलाई टीकाको दोस्रो डोज दिनु प्रारम्भ नै भएको छैन । त्यसै उमेरवर्गका कतिपय नागरिक पहिलो टीका पनि लिन सकेका छैनन् । ६० वर्षका तलकाहरू जो बालबालिका र हाम्रा काम गर्ने उत्पादन समूहका वर्गहरु हुन् –– विचल्लीमा छन् । अन्यत्र यी समूहलाई टीका दिन शुरु गरिए पनि हामी कहाँ कुनै सुरसारको संकेत देखिन्न । यसबारे व्यवस्थापनको निमित्त पहलको जिम्मेवारी निश्चय नै प्रदेश सरकारको हो भन्ने तर्फ समेत ध्यानाकर्षण गराउन चाहन्छु ।

५. महामारीबाट आम जनताको ज्यूजानको सुरक्षा र लोकगतिविधिलाई प्रगतिमूलक सामान्य ट्र्याकमा राख्नु प्रदेश सरकारको पहिलो प्राथमिकता हुनु पर्नेमा विवाद हुन सक्दैन । अतएव प्रदेश सरकारको अन्य योजनाहरू तत्काललाई रोक्नु परे रोकी आवश्यक अर्थको व्यवस्था गरी कोभिड नियन्त्रणको कार्य मुख्यमन्त्रीको हैसियतमा माननीय मुख्यमन्त्रीको प्रत्यक्ष नियन्त्रणमा पारदर्शी र अनुकरणीय किसिमले आगाडि बढाउन विनम्रतापूर्वक अनुरोध गर्दछु ।

६. कोभिडको यस महामारीमा एउटा अर्को स्वास्थ्य सम्बन्धी समस्या थपिएको देखिएको छ । अन्य रोग लिएर वा अन्य रोग भएको ठानेर अस्पतालहरुमा जानेहरू उपचार पाउन समस्या भोगिरहेका छन् । ज्वरो आएको अवस्थामा खास गरी केही चिकित्सक बाहेक धेरै जसो निजी अस्पताल र उपचारकेन्द्रहरु हेर्न असमर्थता जनाइरहेका छन् । कोभिड बाहेकका अन्य संक्रमणमा पनि सामान्य लक्षण ज्वरो नै हो । कतिपय स्थानहरुमा महँगो जाँचहरू गराएर अब बाहिर अन्यत्र लै जानोस् भन्ने गरिएका गुनासाहरू सुनिन्छन् । गरीब र अशिक्षित जनता खास गरी यसका शिकार भइरहेका देखिएका छन् । पीसीआरको परिणाममा समय लाग्ने हुँदा सो जाँच गरेर कोभिड उपचारकेन्द्रमा पठाउने वा अन्य उपचार गर्ने भन्ने निर्णय लिन पनि कठीन छ । यस्तोमा एन्टिजेट परीक्षण एउटा समाधान हुन सक्छ कि ?

यस तर्फ विचार गरी प्रदेश सरकारबाट जिल्ला अस्पतालहरु लगायतमा एन्टिजेट परीक्षणको व्यवस्था गरी कोभिड देखिए कोभिड उपचारकेन्द्रमा प्रेषित गर्ने वा होम ट्रीटमेन्टको सल्लाह दीई पठाउने गरिओस् ; अन्य रोग भए त्यहीं उपचार गर्ने व्यवस्था होस् भन्ने आग्रह गर्दछु । विश्वास छ, प्रदेश सरकारले यीबारे गम्भीरतापूर्वक सोची आवश्यक कदमहरू उठाइने छन् ।

धन्यवाद ।                                                                                                                                                               

सादर,
                                                                                                  

वृषेशचन्द्र लाल
                                                                                                                                                     

(पूर्व राष्ट्रियसभा सदस्य)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top