ताजा समाचार


बुधबारदेखि महोत्तरीमा ९ दिनका लागि निषेधाज्ञा

द रियल समाचार     २०७८ बैशाख १९, आईतवार, १८: ५३ मा प्रकाशित




जनकपुरधाम । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि स्थानीय प्रशासनले बुधबारदेखि महोत्तरी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जिल्लामा संक्रमणको गति बढिरहेकोले वैशाख २२ गते बुधबार बिहान ६ बजेदेखि वैशाख ३१ गते शुक्रबार राति १२ बजेसम्मका लागि जिल्लाभरि निषेधाज्ञा लगाइएको जानकारी दिएका छन् ।

प्रजिअ भट्टराईले कोरोना संक्रमणको दर अत्यधिक बृद्धिसँगै केहि व्यक्तिको मृत्यु समेत भएको अवस्थामा संक्रमणको चेन ब्रेक गरी न्यूनीकरण तथा रोकथाम गर्नका लागि नेपाल सरकारको निर्णय तथा स्थानीय वस्तुस्थिती मूल्यांकन गर्दा केहि समय निषेध गरी नियन्त्रणमा प्रभावकरीता ल्याउनुपर्ने जरुरी देखिएकोले महोत्तरी जिल्लाभर लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको बताए ।

प्रजिअ भट्टराईले नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा र स्थल ९ दिनसम्मका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार महोत्तरी जिल्लाभरि निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

जिल्लाका सबै पालिकाहरुले आफ्ना विरामीका लागि अत्यावश्यक पर्ने अक्सिजन सिलिण्डर हाललाई न्यूनतम रुपमा २०–२० थान खरिद गरी व्यवस्थापन गर्ने तथा थप सिलिण्डर व्यवस्थापनका लागि प्रदेश सरकारसँग माग गर्ने डिसिसिएमसीको बैठकले निर्णय गरेको छ ।
प्रशासनले औषधि उपचार एवं आदेशमा उल्लेख भएबमोजिमका अत्यावश्यक कामका लागि बाहेक सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, सैलुन, ब्युटिपार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालयलगायत सञ्चालन गर्नसमेत रोक लगाइएको छ ।

विवाह, व्रतवन्धजस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जनासम्म सहभागी भई स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी गर्न सकिने र सो प्रयोजनका लागि बढीमा २ वटा साना गाडी र एउटा ठूलो गाडीमा शुभविवाहको ब्यानर राखी सञ्चालन गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ ।

मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीले प्रयोग गर्ने सवारीसाधन, दूरसञ्चार, इन्टरनेट, एम्बुलेन्स, दमकल, शववाहन, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दूधजन्य पदार्थ, पशुपक्षीको दानालगायत दुवानीका सवारीसाधन, आइसोलेसन एवं होल्डिङ सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमति प्राप्त (पास) सवारीसाधन, सरकारी तथा सार्वजनिक संस्थानका सवारीसाधनबाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका सवारीसाधन सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ ।

प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top