ताजा समाचार


होम आईसोलेसनका संक्रमितहरु भगवान भरोसे !

द रियल समाचार     २०७८ बैशाख १८, शनिबार, १९: ०१ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ मा होम आइसोलेसनमा रहेका संक्रमितहरुसँग सम्बन्धित निकायले बेवास्ता गरिरहेको पाइएको छ ।

संक्रमितलाई होम आइसोलेसनमा बस्न र स्वास्थ्यमा बढि समस्या देखिएपछि मात्र अस्पताल आउन सुझाव दिइएपनि होम आइसोलेसनमा बसेका संक्रमितहरुसँग उनीहरुको स्वास्थ्य अवस्थाबारे कसैले कुनै सोधखोज गरेका छैनन् ।

होम आइसोलेसनमा बसेका संक्रमितलाई सम्बन्धित निकायबाट एक कल फोनसमेत आउँदैन्, उनीहरु भगवान भरोसे बाँचिरहेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–२० का अनिल झा संक्रमित भई चार दिनदेखि होम आइसोलेसनमा बसेका छन् । तर उनको स्वास्थ्य अवस्थाबारे कोभिड रेस्पोन्स टीमले अहिलेसम्म कुनै प्रकारको सोधखोज गरेको छैन् ।

उनले भने, ‘आफू संक्रमित भएपछि चिकित्सकले होम आइसोलेसनमा बस्न सुझाव दिए । संक्रमित भएको चार दिन भइसक्यो । ज्वरो, रुघाखोकी लाग्ने, घाँटी दुख्ने लगायतका समस्याले म ग्रस्त छु । तर, सम्बन्धित फोकल पर्सन वा सीआईसी टीमले मेरो स्वास्थ्य अवस्था बारे सोधीखोजी त के एक कल फोनसम्म गरेको छैन् ।’ थप कुनै समस्या परे कता जाने, के गर्ने भन्ने चिन्ताले उनलाई सताईरहेको छ ।

जनकपुरधामका प्रभासचन्द पोखरेलको अवस्था पनि उस्तै छ । होम आइसोलेसनमा बसेको तीन दिन भयो । तर अस्पताल वा कोभिड रेस्पोन्स टीमका कुनै फोकल पर्सनले उनीसँग पनि अहिलेसम्म कुनै प्रकारको सोधखोज गरेको छैन् । उनी आफ्नो सम्पर्कमा रहेका चिकित्सकको सल्लाह अनुसार घरमै औषधि खाइरहेका छन ।

महोत्तरी जलेश्वरका पत्रकार दशरथ भण्डारीले होम आइसोलेसनमा भोग्दै आएको पीडा बारे भने,‘आफ्नो परिवारका सम्पूर्ण सदस्यहरु संक्रमित भएको ६ दिन बित्यो । तर स्वास्थ्य कार्यालय वा कोभिड रेस्पोन्स टीमबाट एक कल फोन समेत आएको छैन् ।’ उनले भने, ‘स्वास्थ्य कार्यालयलाई जानकारी गराएपछि त्यहाँबाट अस्पतालमै आएर उपचार गराउन भनियो । तर त्यहाँ गएपछि यहाँ अहिले कोरोनाको उपचार बन्द रहेको भन्दै फर्काइदियो ।’

स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार प्रदेश २ मा २ हजार १३६ सक्रिय संक्रमित मध्ये २ हजार ४६ जना होम आइसोलेसनमा बसेका छन । तर तिनीहरुले अहिलेसम्म न कुनै उपचार पाएका छन् न त चिकित्सकीय परामर्श नै । कुनै निकायले अनुगमन समेत गरेको छैन् । यस सम्बन्धमा स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत डा. कमलेश प्रसाद यादवले होम आइसोलेसनमा बसेकाहरुका लागि पहिला समस्या रहेपनि अहिले प्रत्येक स्थानीय तहमा सीआईसी टीम गठन गरी तिनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिइँदै आएको बताए ।

यता जनकपुरधाम उपमहामनगरपालिका सीआईसी टीमका विनय पजियारले केही दिन पहिलासम्म होम आइसोलेसनमा बसेकाहरुलाई समस्या रहेपनि अहिले त्यस्तो कुनै समस्या नरहेको बताए । जनकपुरधाम उपमहानगरपालिकामा ५ सदस्यीय सीआइसी टीम गठन गरिएको छ । प्रत्येक सदस्यलाई ५/५ वटा वडाको जिम्मेवारी दिइएको छ ।

उनले भने, ‘आफ्नो टीमले संक्रमित भएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ्गदेखि अनुगमन गर्नेसम्मको जिम्मेवारी दिएको छ । प्रत्येक वडामा गई होम आइसोलेसनमा बसेकाहरुको अनुगमन गर्दै चिकित्सकीय परामर्श अनुसार औषधि लिन सल्लाह दिइरहेको छौं, थप उपचारको आवश्यकता भएकालाई अस्पताल पुर्याउने गरिएको छ ।’

महोत्तरीको फोकल पर्सन प्रतिभा सिंहले होम आइसोलेसनमा बसेकाहरुको हेरचाह र अनुगमनको जिम्मेवारी स्थानीय तह अन्तर्गतको सीआइसी टीमलाई दिइएको बताईन् । उनले भनिन, ‘डाटाको आधारमा सम्बन्धित स्थानीय तहले कन्ट्रयाक्ट ट्रेसिङ्ग र होम आइसोलेसनमा बसेकाहरुको अनुगमन गर्ने हो । तर सम्बन्धित स्थानीय तहले के कति कारणले अनुगमन गरिरहेको छैन त्यो मलाई थाहा छैन् ।’

यस प्रदेशका आठवटा जिल्ला मध्ये कुनैपनि जिल्लामा सम्बन्धित फोकल पर्सन तथा सीआईसी टीमले होम आइसोलेसनमा बसेकाहरुको हेरचाह, अनुगमन वा उपचार नगरेको आरोप लाग्दै आएको छ ।

यसवर्ष सरकारी बेवास्ताका कारण कोरोना संक्रमणको दोस्रो लहर निरन्तर बढिरहेपनि प्रदेशका कुनैपनि स्थानीय तहमा क्वारेन्टिन र आइसोलेसन अझै निर्माण गरिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top