ताजा समाचार


कोरोना संक्रमणबाट बाँकेमा एकैरातमा ६ जनाको मृत्यु

द रियल समाचार     २०७८ बैशाख १८, शनिबार, १५: ४७ मा प्रकाशित




बाँके । कोरोना संक्रमणबाट बाँकेमा ६ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार शुक्रबार राति बाँकेका ३, दाङका २ र कपिलवस्तुका १ संक्रमितको मृत्यु भएको हो ।

दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । बैशाख १६ गते अस्पताल भर्ना भएका १७ गते साँझ ७ बजे पिसिआर रिपोर्ट आउँदा मृत्यु भइसकेको थियो ।

नेपालगन्ज उपमहानगरपालिका–६ का ४७ वर्षीया महिलाको मेडिकल कलेज कोहलपुरमा शुक्रबार राति ९ः३० बजे मृत्यु भएको हो । वैशाख १५ गते भर्ना गरिएका उनको १६ गते पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

कपिलवस्तु कृष्णनगर नगरपालिका–५ का ५१ वर्षीय पुरुषको गएराति नै नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । उनी पनि १५ गते मेडिकल कलेजमा भर्ना भएका थिए । १६ गते उनमा संक्रमण पुष्टि भएको थियो ।

नेपालगन्ज–१० का ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । पिसिआर परीक्षण गर्दा बैशाख १३ गते पोजेटिभ रिपोर्ट आएपछि उनी १४ गते भेरीमा भर्ना भएकी थिइन् । शनिबार बिहान ४ बजे उनको मृत्यु भएको हो ।

बाँकेकै कोहलपुर नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु गएराति मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । वैशाख १० गते अस्पताल भर्ना गरिएका उनमा ११ गते संक्रमण पुष्टि भएको थियो ।

दाङको दगीशरण गाउँपालिका–१ का ६० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । वैशाख ८ गते भर्ना गरिएका उनमा ११ गते पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । शनिबार बिहान ४ बजे उनको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top